
दाङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् ।
प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।
नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको बताए ।
“पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उनले भने, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।”
नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए।
सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.