www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा झण्डै सातसय जनामा डेंगुको संक्रमण

पोखरा ।

गण्डकी प्रदेश पनि डेंगुको उच्च जोखिममा रहेको छ । प्रदेशको राजधानी रहेको कास्की जिल्ला यसको सबैभन्दा जोखिममा छ । गण्डकीका कास्की सहित, स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, नवलपूरमा डेंगुको संक्रमण भएका विरामीहरु भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

बिहीबारसम्मको तथ्यांक अनुसार कास्कीमा मात्र ६४९ जनामा डेंगुको संक्रमण भएको पाइएको छ । तनहुँमा १०, स्याङ्जामा १८, पर्वतमा दुई, म्याग्दीमा २ र नवलपूरमा ४ जनामा डेंगुकोसंक्रमण भएको पाइएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालय स्रोतका अनुसार नवलपुरकी ६७ वर्षकी एक बृद्धाले ज्वोरोको कारणले ज्यान गुमाएकी छन् । डेंगुकै कारण ति बृद्धाको ज्यान गएको आशंका गरिएको छ । यद्यपी बृद्धाको मृत्यु डेंगुकै कारणले हो या हैन भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

कास्की सहितका जिल्लामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुबै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीले जानकारी दिए । ‘डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ ।

यसको नेपाली नामाकरण टाइगर मस्क्यूटो राखिएको छ,’ उनले भने, ‘यो लामखुट्टे अरु भन्दा फरक छ । यो लामखुट्टेले बाघले जसरी नै एक्कासी आएर टोक्ने, एउटालाई टोकेपछि अर्को, अर्कोलाई टोक्दै जाने गर्छ । अरु लामखुट्टेहरु एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैन ।’

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । प्रहरीले आन्तरिक शिविर गरेर डेंगुको परिक्षण समेत गरिसकेको छ ।

डेंगुको नियन्त्रणको लागि गण्डकी सरकारले २१ लाख रुपैँया विनियोजन गरिसकेको छ। उक्त पैसा डेंगुको परिक्षण गर्ने किट खरिदको लागि, र विभिन्न सचेतना कार्यक्रमको लागि खर्च हुने अधिकारीले बताए । ‘यसको ठ्याक्कै यहि उपचार भन्ने छैन,’ उनले भने, ‘लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, सचेतना फैलाउने नै हो।’

गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछ । गण्डकी क्षेत्रिय अस्पतालमा अहिले डेंगुको परिक्षण गर्ने किटको अभाव हुन थालेको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.