
उमा विक
पोखरा,ताण्डव न्युज ।
युवाहरुले स्वदेशमै दःख गर्ने हिम्मत जुटाए रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था छैन। गरे स्वदेशमै पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन ड्याडिज किचन प्रालिका सञ्चालक युवाहरु कमलजंग कुवर, प्रिन्स मल्ल,पदम कुवँर र सन्दिप क्षेत्री ।
‘मलाई पनि जापान, अष्ट्रेलिया जाने धोको थियो । यहाँ ठेला धकेल्न कहाँ रहर थियो र तर मेरो दाई कमल कुँवरले मलाई पासपोर्ट सम्म नि बनाउन दिनुभएन’ ड्याडिज किचनका पोखरा शाखाका सञ्चालक सन्दिप क्षेत्री सुनाउँछन्, ‘मेरो दाईको सोच युवाले स्वदेशमै मिहेनत गर्न सक्नुपर्छ भन्ने थियो ।’

दाईको सोंच र सल्लाहलाई आत्मसाथ गर्दै सन्दिपले ठेलाबाट व्यवसाय सुरु गरे । बुटवल दिपनगरका सन्दिप, उनका आफन्त दाई कमल, अर्का दाई प्रिन्स मल्ल र पदमकुवँर संयुक्त रुपले २०७० सालमा मिलेर स्वदेशमै केही गर्नुपर्छ भनेर बुटवलमै थेलामा फास्ट फुड बेच्न थाले ।
१९/२० वर्षको जवान उमेरमा साथीभाईसँगको रमाइलो छोडी उनी दाई कमलसँगै ठेला धकेल्थे । विगत सम्झिदै सुनाउँछन्, ‘बुटवलको गर्मीमा घरदेखि २ किलोमिटरको दुरीमा ठेला धकेल्दैधकेल्दै बजारको चोकमा पु¥याएर फास्ट फुड बेच्थ्यौं । हामीले ठेलाबाटै पहिलो दिन वर्गर बनाएर बेचेका थियौँ । त्यो दिन हामीले ठूलै कुरा जित्यौँ जस्तो फिल भाको थियो ।’
उनी ठेलामा पुग्ने ग्राहकलाई सस्तोमा फास्टफुड उपलब्ध गराउँथे त्यसैले पनि ग्राहकको संख्या बढ्न थाले । ग्राहकलाई बस्ने ठाउँको असुविधा हुन थालेपछि उनीहरुले नयाँ उपाय खोज्न थाले । ठेला धेकेल्दै सडक छेउ पु¥याउन पनि गाह्रो थियो ।
फुड ट्रक आइडिया
विदेशतिर समुन्द्र किनारमा गाडीमा खाजा बनाएर बेचेको सन्दिप र उनका दाई कमलले टिभि, युट्युबमा देख्थे । उनीहरुलाई नेपालमा हामी पनि यस्तो गरौँ न त भन्ने लाग्यो र ल्याए फुड ट्रक आइडिया ।
फुड ट्रक नेपाल मै पहिलो थियो । बुटवलमा यसले राम्रै मार्केट लिएपछि उनीहरुले पर्यटकीय नगरी पोखरा आउने सोच बनाए । २०७३ सालमा सन्दिप र उनका दाई कमल पोखरा आए । पोखरामा पहिलो पटक फुड ट्रक लिएर आउँदा यहाँको लागि नौलो थियो । मानिसहरुले खाजाको गाडी (फुड ट्रक)लाई घोरेर हेर्थे ।
उनी सम्झन्छन्,‘ हामीले गाडीमा खाजा लिएर हिँड्दा मानिसहरु दुगुर्दै आएर हेर्थे । फोटो र सेल्फी खिच्नेहरुको त भीड लाग्थ्यो ।’ उनले पोखरा आएर पनि फुड ट्रकसँगै ठेला पनि राखेका थिए । यहाँ आएर पनि ठेला धेकेल्न उनले छोडिसकेका थिएनन् ।
उनले पोखरामा व्यवसाय सुरु गर्दा असारको महिना थियो । पोखरामा अन्य ठाउँको तुलनामा बढी झरी पर्र्ने, तर सन्दिप र उनका दाईले घामपानी कहिल्यै नभनी दुःख गरिरहे । उनीहरुको मिहेनत खेर गएन ।
पोखराको विरौटामा राखेको उनीहरुको ठेला र फुड ट्रकमा ग्राहकको भीड लाग्न थाल्यो । ग्राहकलाई खाजा पु¥याउनै धौधौ हुन थाल्यो । उनको फुड ट्रकमा खाजा खाने ग्राहक बढेको देखेर नगरपालिका र प्रशासनमा चुक्ली लगाउनेहरु धेरै निस्के ।
फुड ट्रक बाटोमा राखेर खाजा बेच्दा नगरपालिकाले धेरैपटक दुःख दियो । कहिले खाजा बनाइरहेका बेला ग्याँस उठाएर लगिदिन्थ्यो त कहिले अन्य सामान । ‘ट्राफिकले ग्राहक बसेर खाजा खाइरहेका बेला कुर्चिहरु लिएर गइदिन्थे, यो सबै कुराले हाम्रो हिम्मत नै हराइसकेको थियो । तर चुनौतीलाई चुनौती दिदै संघर्ष गरिरह्यौँ,’ उनी सुनाउँछन् । फुड ट्रकबाट दिनमा ६०–७० हजार बराबरको सेल्स हँुदै आएको उनी बताउँछन् । उनले विरौटा र चिप्लेढुंगामा फुड ट्रक राखेका थिए ।
ड्याडिज किचन
कुनै समय ठेला धेकेल्ने सन्दिप र उनका दाई कमलले पोखरा मुस्ताङचोक देखि थोरै तल झण्डै ३ करोड लगानीमा ड्याडिज किचन सञ्चालन गरेका छन् । ड्याडिज किचनको फ्रन्ट मै ठूला अक्षरमा लेखिएको छ, ‘कायापलट ल्याउँछौ स्वदेशमै, युवा उद्यमशिलतालाई सम्मान गरौँ’ यो उनीहरुको नारा हो ।
उनका दाई कमलले युवालाई विदेश जानबाट रोक्ने र युवाले गरे स्वदेशमै पनि दुःख गरे यहाँ पनि अवसर छ भन्ने सन्देश दिन चाहन्थे । त्यसैले उनले सन्दिप लगायतका अन्य आफ्ना युवा भाईहरुलाई विदेश जानबाट रोकेर नेपालमै ठेला धेकेल्न सिकाए ।
ड्याडिज किचनले अहिले ५० भन्दा बढी युवा युवतीलाई जागिर दिइरहेको छ । फुड ट्रक र रेस्टुरेन्टमा गरेर पोखरामा मात्रै उनीहरुको ७० बढी कर्मचारी छन् ।
क्यापासिटीको हिसाबले ड्याडिज किचन फास्टफुडमा नेपालकै नम्बर १ पर्ने सन्दिप दाबी गर्छन् । सञ्चालक सन्दिपको अनुसार रेस्टुरेन्टमा ३ सय जनाको क्यापासिटी छ ।
रेस्टुरेन्टमा विश्वकै ठूलो गिटारले डकोरेसन गरिएको छ । पोखराको फेवातालमा रहेको २१ वर्षे पुरानो डुंगा, कपिलवस्तुबाट झण्डै ७५ वर्ष पुरानो काठको चक्का(पाङग्रा) रेस्टुरेन्टको आर्कषणमा रहेको छ ।
ड्याडिजको पोखरामा ३ वटा र काठमाडौंमा २ वटा, बुटवलमा २ वटा र रुपन्देहीमा बन्दै गरेको रेष्टुरेन्ट गरेर ८ वटा ब्रान्च रहेको छ । यी ब्रान्चहरुमा झण्डै ३ सय बढी कर्मचारी रहेको सन्दिप बताउँछन् ।
बुटवलमा रहेको ब्रान्चमा प्रिन्स मल्ल, काठमाडौंको ब्रान्चमा पदम कुँवर र पोखरामा सन्दिप क्षेत्रीले व्यवसाय सम्हालेका छन् । सबै हाँगाको बलियो जरा कमल कुँवर रहेको सन्दिप बताउँछन् ।
विदेशमा ब्रान्च
ड्याडिजको ब्रान्च नेपालमा मात्र हैन बाह्य देशमा पनि खोल्ने योजना रहेको सन्दिप बताउँछन् । ‘हाम्रो टार्गेट इन्टरन्यासनल्ली जाने छ । २०२० सम्ममा इन्डिया लगायतका बाह्य देशहरुमा पनि ब्रान्च खोल्ने तयारी गरिरहेका छौँ,’ उनी सुनाउँछन् ।
बाह्य देशहरुमा पनि नेपाली युवालाई नै रोजगार दिने उनले बताए । ड्याडिज किचन कम्पनी नै दर्ता भई प्राइभेट लिमिटेडको रुपमा सञ्चालनमा छ । ड्याडिज किचनले सामाजिक उत्तरदायित्व बहन गर्दै हप्ताको एक दिन शनिबारको दिन श्रृखलाबद्ध सरसफाई गर्दै आइरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.