www.tandavnews.com
Fact ~ In search of truth

पदमार्गले जोड्दै पञ्चकोट–ढोरपाटन

बागलुङ ।

बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो ।

पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रर्वद्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुङ्गासम्म पदमार्गको रेखाङ्कन गरिएको छ ।

Batas

पदमार्गलाई विस्तार गरी ढोरपाटनसम्म पुर्याइनेछ । जिल्लाको पर्यटकीयस्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुङ्गासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रर्वद्धनमा सहयोगका लागि समेत पदमार्ग रेखाङ्कन गरिएको छ ।

पदमार्गको ‘धौलागिरि चक्रपथ’ नामकरणसमेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुङ्गा पदयात्रा गरी पदमार्गको रेखाङ्कन गरिएको थियो ।

पञ्चकोटदेखि बेलढुङ्गा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखाङ्कन गरिएको धौलागिरि पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ ।

“दुई पर्यटकीयस्थललाई जोडी ढोरपाटन शिकार खेल्न जाने बाह्य पर्यटकलाई पञ्चकोट हुँदै पदमार्गको माध्यमबाट ढोरपाटन पुर्याउने लक्ष्य हो”, कँडेलले भने, “पदमार्गमार्फत पर्यटक आवतजावत गर्दा पदमार्गले छोएका अन्य पर्यटकीयस्थलको थप प्रर्वद्धन हुने अपेक्षा गरिएको छ ।”

जिल्लाका सबै पर्यटकीयस्थललाई पदमार्गले जोड्न सकेमा मात्र बागलुङ पर्यटकको गन्तव्य बन्न सक्ने कँडेलको भनाइ छ । पञ्चकोट–बेलढुङ्गामा पदमार्गको जानकारी बोर्ड, उचाइ तथा सङ्केत राखी पदयात्रीलाई सहज बनाउन धौलागिरि चक्रपथ विकास समितिसमेत गठन गरिएको छ । काठेखोल–७ का वडाध्यक्ष प्रेम लामिछानेको संयोजकत्वमा पदमार्गले छोएका सबै स्थानीय तह सहभागी रहने गरी समिति गठन गरिएको हो ।

पदमार्गमा जोडिएका सबै स्थानीय तहलाई समेटेर पदमार्गको विकासका लागि लाग्ने धौलागिरि चक्रपथ विकास समितिका संयोजक प्रेम लामिछानेले बताए । “अर्को वर्षसम्म पञ्चकोटदेखि बेलढुङ्गासम्म सजिलै हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गर्नेर्छौं”, लामिछानेले भने, “पर्यटक आउन थालेपछि पर्यटन मन्त्रालयको सहयोगमा ढोरपाटनलाई यही पदमार्गमा जोड्ने लक्ष्य छ ।”

पदमार्गको विकाससँगै पदमार्गमा जोडिएका बेलढुङ्गा, संसारकोट, थाप्लेको धुरी, कान्छौ धौलागिरिलगायतका नयाँ पर्यटकीय गन्तव्यको विकास हुने चक्रपथ विकास समितिले जनाएको छ । पञ्चकोटमा दैनिक सयौँ पर्यटक आउन थालेपछि पञ्चकोट पुगेका पर्यटकलाई पदमार्गमार्फत सोझै ढोरपाटन पुर्याउन पदमार्गको पहिचना गर्न लागिएको हो ।

पञ्चकोट पुगेका अधिकांश पर्यटकलाई ढोरपाटन पुर्याउन सके जिल्लाले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्ने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.