www.tandavnews.com
Fact ~ In search of truth

बेनी–जोमसोम सडक पाँच दिनपछि आज बिहानबाट सञ्चालनमा

म्याग्दी ।

विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको हो ।

Batas

पहिरोले करीब १३ मिटर सडकको बेस (जग÷आधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको निर्माण कम्पनीको डोजर परिचालन र नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाएर मर्मत गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

बुधबार राति सडक मर्मत गरेपछि आज बिहानबाट सिधा यातायात सेवा सुचारुमा आएको हो । बेनीदेखि मुस्ताङ जाने सवारी साधन काभ्रे र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधन घाँसामा रोकिएका थिए ।

बाटो सुचारुभएसँगै स्थानीयवासी, मुस्ताङ भ्रमण गर्ने पर्यटक र मुक्तिनाथ तीर्थयात्राका लागि जाने आउने तीर्थयात्रीलाई गन्तव्यतर्फ जान सहज भएको छ । मुस्ताङमा उत्पादित स्याउ बजारमा पुग्न थालेको छ ।

यसअघि गत असार अन्तिम सातासमेत सोही ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको सडक एक हप्तापछि मर्मत गरेर यातायात सञ्चालन गरिएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गलेश्वरदेखि घाँसासम्मको सडक पहिरोको जोखिममा रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.