www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको क्षेत्रमा उपनिर्वाचन : कास्की नेकपाले बामदेवलाई रोजेकै हो त ?

पोखरा ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते देशका विभिन्न निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ । देशका विभिन्न क्षेत्र हुने उक्त उपनिर्वाचनमा प्रतिनिधीसभाको लागि हुने क्षेत्र भने कास्की २ मात्र हो । गत वर्षको फागुनमा यूवा नेता तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि यस क्षेत्र खाली छ । योसँगै गण्डकी प्रदेशको बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) पनि खाली छ । यस क्षेत्रका प्रदेश सभा सदस्य टेक बहादुर घर्तीको जण्डीसको कारण केहि महिना अघि मृत्यु भएपछि यस क्षेत्र खाली छ । योसँगै तीन ठाउँमा वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ । बागलुङ बडीगाड गाँउपालिका २, नवलपुरको बौदिकाली ५, र लमजुङ सुन्दरबजार २, मा उपनिर्वाचन हुँदैछ ।
अहिले तत्कालीन माओवादी र एमाले मिलेर नेकपा बनेको छ । स्वर्गिय नेता अधिकारी एमालेबाट चुनाब जितेको भएर उनको क्षेत्रमा तत्कालीन एमालेबाटै उमेद्वार बन्ने निश्चित छ । कास्कीकै नेकपाका नेताहरुले पनि रबिन्द्रको क्षेत्रबाट चुनाब लड्ने सुर नसकेका भने होइनन्, तर उनीहरुमा पनि एउटा स्वार्थ छ । ‘ह्याँ चुनाब लड्न यहाँ नेता नभएका होइनन् । तर, यहाँका नेताहरुले केहि स्वार्थ लिएका छन्,’ नेकपा कास्कीका एक नेताले भने, ‘अहिले बामदेवलाई चुनाब लड्न दियो भने अर्काे पटकलाई डिस्टब गर्दैनन् । यो उपयुक्त बेला पनि हो । त्यसैले यहाँका नेताहरुमा इच्छा भएपनि चुनाब लड्दैनन् ।’ एक थरी नेताहरुले कास्कीमा चुनाब जितेर गए बामदेव प्रधानमन्त्री नै हुने महत्वकांक्षी विचार पनि पालेका छन् । एक नेताले भने, ‘बामदेव पार्टीमा कस्ता नेता हुन भनेर त मैले भन्न नपर्ला । उनलाई यहाँ चुनाब जिताएर पठाए प्रधानमन्त्री हुने हैसियत राख्छन् । प्रधानमन्त्री भइहाले कसो यहाँ विकास नल्याउलान र पक्कै रबिन्द्रलाई विर्साउनेछन् ।’

बामदेवले फकाएकै हुन त नेताहरुलाई ?

बामदेवलाई जसरी पनि पार्टी मात्र हैन आफु नै सरकारमा रहन पद चाहिएको छ । यस अघि पनि काठमाडौँलाई राजीनामा गराएर चुनाबमा उत्रने तालसुर झिकेका उनले यसपटक भने सहजै पाउने नेकपाकै नेताहरु बताउँछन् । ‘बामदेवका नजिकका नेताहरु देखि सचिवालयका केहि नेता कास्की आएर यहाँको नेताहरुको बिचार बुझेर गइसकेका छन्,’ नेकपाका नेताले भने, ‘सचिवालयका पदाधिकारीहरुले यहाँका नेतृत्वलाई एक्ला एक्लै भेटेर फर्केका छन् ।’

Batas

के भन्छिन् विद्या भट्टराई ?

स्वर्गीय पर्यटन मन्त्री अधिकारीकी पत्नी विद्या भट्टराई चुनाबमा उठ्नुपर्ने तल्लो तहका नेकपाका नेता कार्यकर्ताको मत छ । तत्कालीन एमालेकै राजनीतिक पृष्ठभूमी भएकी र विद्यार्थी नेतृत्वमा समेत रहेकी विद्यालाई रबिन्द्रको ठाउँमा चुनाब लडाउनुपर्ने एक थरीको माग छ । तर, उनलाई कुनै उपाए लगाएर राष्ट्रिय सभामा ल्याएर कास्की २ बाट भने बामदेवलाई नै उठाउने तयारी नेकपा नेतृत्वको छ । विद्या भने पार्टीले गर्ने निर्णयमा आफ्नो सहमत रहने बताउँछिन् । ‘मैले नै टिकट पाउनुपर्छ भन्दिन । तर, जनताको इच्छा र मतको कदर भनेर पार्टीले गर्नुपर्छ,’ उनले भनिन्, ‘पार्टीको निर्णय मलाई मान्य छ ।’ विद्यालाई राष्ट्रिय सभाका लागि मनाएर बामदेवको लागि वातावरण बनाउनुपर्ने नेकपा कास्कीका नेताहरु पनि कस्कीएका छन् ।
‘जिल्लामा छलफल नै भएको छैन’
नेकपाको स्रोतले केन्द्रबाट बामदेवका सचिवालयबाट र बामदेव प्यानलका केहि नेता आएर कास्कीमा छलफल गरेर गएको बताएपनि नेकपा कास्कीको नेतृत्व निर्बाचन केन्द्रित भएर छलफल नभएको बताउँछ । ‘यहाँ को चुनाब लड्ने, को–कोले इच्छाएका छन पनि थाहा छैन,’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘निर्बाचनको लागि यहाँ छलफल भएको छैन ।’

कांग्रेसबाट उमेद्वार को ?

नेकपामा जस्तो रस्साकस्सी छ, कांग्रेसमा पनि उत्तिकै छ । प्रखरवत्ताको रुपमा चिनिएका देवराज चालिसे पुनः चुनाब लड्ने सुरमा छन् । उनी स्वर्गिय रबिन्द्र अधिकारीको निकटतम प्रतिद्धन्दी समेत हुन् । उनी यो पाँच वर्षको लागि आफु नै उमेद्वार भएको दाबी गर्छन । तर, उनले भनेजस्तो सजिलो छैन । उमेद्वार बन्न कांग्रेसको तर्फबा अग्रपंत्तिमा नाम आएपनि अर्का नेता धनराज गुरुङको पनि चर्चा उत्तिकै छ । गुरुङले त सामाजिक सञ्जालमै लेखेर आफु कास्कीमा चुनाब लड्न तयार रहेको समेत बताएका छन् । कांग्रेसमा पनि आधा दर्जन नेताहरुले इच्छा देखाएका छन् ।

रबिन्द्र नेकपामा मात्र हैन नेपालमै राजनीतिक दलभित्र उदयमान यूवा नेता थिए । उनको ओझिलो ब्यत्तित्वको कारण पनि उनले चुनाबमा ह्याट्रिक गरे । रबिन्द्रले अन्तिम पटक चुनाब लड्दाको मतपरिणाम हेर्नेहो भने पनि उनको ब्यक्तित्व र छविले चुनाबमा गतिलो काम गरेको देखिन्छ । २०७४ को चुनाबमा रवीन्द्र अधिकारी आठ हजार पाँच सय ४६ मत बढी ल्याएर विजयी भएका थिए । रवीन्द्रले २७ हजार दुई सय सात मत ल्याएका थिए । निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत थियो । समानुपातिक तर्फ भने मत यतिधेरै भिन्नता देखिँदैन । समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको थियो ।

हल्ला धेरैको भिडन्त नेकपा र कांग्रेसको

देशकै ठुलो महानगर समेत पर्ने यस क्षेत्रमा चुनाब लड्न विवेकशीलका नेता रबिन्द्र मिश्र पनि आउने चर्चा छ । उनको पार्टी नफुट्दा काठमाडौँमा राम्रै मत ल्याएको थियो । तर, कास्कीमा तत्काल रबिन्द्रको पार्टी प्रमुख प्रतिस्पर्धीमा रहने देखिँदैन । यहाँ उहि पुराना शक्तिहरु नेकपा र नेपाली कांग्रेसबीच चुनाबी भिडन्त हुने देखिन्छ जुन अघिल्लो चुनाबमा पनि हुँदै आएको थियो । अलि अघि पोखरा आएका कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले पनि कास्की २ जसरी पनि कांग्रेसले जित्नुपर्ने अभिब्यक्ति दिएका थिए । कांग्रेसले आन्तरिक तयारी समेत गरेको देखिन्छ । पार्टीको केन्द्रिय नेतृत्वको बाक्लो पोखरा आउजाउले पनि यो प्रष्ट हुन्छ । उपनिर्वाचनमा कास्की २ मा ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन् । यो तथ्यांकमा अघिल्लो निर्वाचन पछि थपिएका मतदाताहरु समेत जोडिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.