www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको मान्द्रेढुङ्गामा लिफ्टिङ खानेपानी

तनहुँ ।

दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।

कूल ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले ५० लाख र भीमाद नगरपालिकाले ४० लाख रुपैयाँ साझेदारी गरेका छन् । खानेपानी आयोजनाबाट यहाँका ४८ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार मान्द्रेढुङ्गा मूलको पानी १७४ मिटर लिफ्टिङ गरी उपभोक्ताको घर–घरमा जडान गरिएको छ ।“सोलार भन्दा कम खर्चिलो हुने भएकोले बिजुलीबाट लिफ्ट गरेर खानेपानी उपभोक्ताको घर–घरमा पुर्याइएको छ,” उनले भने,“७५ घरधुरीमध्ये २७ घरधुरीमा गत वर्ष नै धारा जडान गरिसकिएको थियो ।”

खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयवासी घरमै पानी आएपछि खुशी भएको स्थानीयवासी सानीमाया थापाले बताए । “खानेपानीको जोहो गर्न घण्टौं समय कुवामा लाइन बस्नुपथ्र्यो” उनले भने, “अहिले घरमै धारा खोलेपछि पानी आउने भएपछि सजिलो भएको छ ।”

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खानेपानीको समस्या रहेका यहाँका स्थानीयवासीलाई स्वच्छ पानी खुवाउन प्रदेश सरकारसँग साझेदारी गरिएको बताए।

“स्थानीय सरकारको एक्लैको लगानीले मात्र खानेपानी व्यवस्था गर्न कठिन हुन्थ्यो,” थापाले भने,“प्रदेश सरकारले ५० लाख लगानी गरेपछि नगरपालिकाले पनि रु ४० लाख लगानी गर्यो ।” थापाले नगरपालिकाभित्रका अन्य ठाउँमा पनि खानेपानीको समस्या रहेकाले विस्तारै उक्त ठाउँमा खानेपानीको सुविधा पुर्याइने जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.