www.tandavnews.com
Fact ~ In search of truth

सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन :विभाग

काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो ।

छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा दुई प्रतिशत कायम रहेको थियो ।

हाल संशोधनपश्चात् भारतीय गुणस्तरमा आइआरको मान पाँच प्रतिशत रहेको र नेपाल गुणस्तर ४९।२०७६ मा पनि ३३ ग्रेडको हकमा चार प्रतिशत र ४३ र ५३ ग्रेडको हकमा तीन प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको विभागका महानिर्देक विश्वबाबु पुडासैनीले जानकारी दिए।

गुणस्तरको सूचाङ्कमा हेरफेर गरी मिसावट गर्न छुट दिएको जस्तो गरी भ्रम सिर्जना गर्न खोजिएको विषयमा कुनै सत्यता नरहेको विभागको भनाइ छ । “ओपिसी सिमेन्टमा क्लिंकर एवं जिप्सन बाहेकका कुनै पनि गैर कच्चा पदार्थ विगतमा पनि प्रयोग गर्ने छुट छैन र हाल पनि छैन”, महानिर्देशक पुडासैनीले भने ।

यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान पाँच प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४३ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको छ । भारतीय सिमेन्टको गुणस्तरमा म्याग्नेसियमको मान ३३, ४३ र ५३ ग्रेड सबैको हकमा ६ प्रतिशत नै कायम गरिएको विभागले जनाएको छ ।

सिमेन्ट मापदण्ड संशोधनपछि विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तरसमेत मापदण्डमा समावेश भएकोले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने विभागको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.