www.tandavnews.com
Fact ~ In search of truth

बाँके काँग्रेस सभापतिमाथि आक्रमण गर्ने तीन पक्राउ, तीनको खोजी गरिँदै

नेपालगञ्ज ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

सभापति कोइरालालगायतका काँग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके काँग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गरेका छन । तर उनको आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गरेका छन् ।

अध्यक्ष खरेलले भने, “काँग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काँग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।”

नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काँग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उहाँको उपचार गरिएको थियो । सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.