www.tandavnews.com
Fact ~ In search of truth

कञ्चनपुरका नगर प्रवक्ताको गाडी र वडा कार्यालयमा आगजनी

कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

Batas

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।”

वडा कार्यालयमा आगजनी

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.