www.tandavnews.com
Fact ~ In search of truth

महोत्तरीमा किशोरीमाथि सामूहिक बलात्कार

महोत्तरी ।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि रातिको बेला करीब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

किशोरीलाई एक्लै देखेर चार युवाहरु उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे सविस्तार बताएकी थिइन् ।

किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन् ।यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ ।

तर प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.