www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा चरन अभावले सङ्कटमा मौरी

चितवन ।

चरन अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार स्थानीय तहले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको मौरी ल्याउन नदिने, मौरीलाई विष राखी दिनेजस्ता समस्या देखा परेका छन् ।

कतिपय स्थानीय तहले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै अनुमति दिन आनाकानी गर्ने गरेको किसानको गुनासो छ । यस्तै उत्पादित महले समेत बजार पाउन कठिन भएको पौडेलको भनाइ छ ।

यस वर्षको उत्पादन शुरु हुनै लाग्दा गत वर्षको २० टनभन्दा बढी मह बिक्री हुन नसकेको पौडेलले बताए । गत वर्ष नेपालमा तीन हजार ५०० मेट्रिक टन मह उत्पादन भएको थियो । त्यति नै हाराहारी मह भारत र चीनबाट आयात भएको जनाइएको छ । आयात भएको महमध्ये कतिपयमा अखाद्य वस्तु मिसाइने गरेको बताइन्छ ।

मौरीपालन विकास कार्यक्रम प्रदेश नं ३ भण्डाराका प्रमुख शिव रिजाल देशका उत्तर दक्षिणी क्षेत्र जोड्ने गरी सडकमार्ग बनाउन सकेमा चरनको समस्या हट्ने बताउनुहुन्छ । पहाडी क्षेत्रमा रुदिलो हुने गरेको भए पनि सडकको अभावमा मौरी पुर्याउन कठिन भएको उनले बताए । मुख्यरुपमा चिउरी, तोरी, तोरा, सिसौ, रुदिलो, सूर्यमुखी मौरीका आहारा हुन् ।

चिउरीका लागि दाङ, प्युठान, चितवनको शक्तिखोर र सिद्धि, मकवानपुरको राक्सीराङ मुख्य क्षेत्र हुन् । तर, ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मौरी लैजान कठिन हुने गरेको गुनासो आएको रिजाल बताउछन् ।

नेपालमा मौरीपालन गर्ने किसानको सङ्ख्या पाँच हजार हाराहारी छ । उनीहरुले उन्नत जात मेलिफेरा ७० हजार घार र स्थानीय जात सेराना एक लाख २५ हजार घार पाल्ने गरेका छन् ।

नेपालमा वार्षिक २० हजार मेट्रिकटनसम्म मह उत्पादन गर्ने चरन क्षेत्र रहेको भए पनि यातायात सुविधा नहुँदा हाल रहेको थोरै मौरीमा पनि चरन समस्या रहेको रिजाल बताउछन् । महलाई आत्मनिर्भर बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली बजारमा सेरानाको मह प्रतिकिलो एक हजारदेखि एक हजार ६०० सम्ममा बिक्री हुने गरेको छ । मेलिफेराको ४०० देखि ८०० सम्ममा बिक्री हुने गरेको छ । किसानले भने प्रतिकिलो २५० देखि ३०० मा पनि बिक्री नभएपछि थन्काउन बाध्य भएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.