www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

बागलुङ ।

जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ । कूल ६२४ मुद्दामध्ये ४२८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा ४५३ मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।

फछ्र्योट भएकामा व्यक्तिवादी देवानी २९७, व्यक्तिवादी फौजदारी ६५, सरकारवादी फौजदारी ८६, पुनरावेदन देवानी एक र पुनरावेदन फौजदारी मुद्दा एक रहेको छ । “कूल मुद्दामा ७२ दशमलव ५९ प्रतिशत फछ्र्योट भए, बाँकी १७१ मुद्दाको चालू आर्थिक वर्षमा जिम्मेवारी सरेको छ”, अदालतका श्रेष्तेदार भेषराज पौडेलले भने । सबैभन्दा बढी असारमा ७१ मुद्दा फछ्र्योट भए ।

वार्षिक कार्ययोजनाले तोकेभन्दा बढी मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए । अधिकांश मुद्दाको किनारा वर्ष दिनमै लाग्ने गरेको छ । अदालतले न्याय सम्पादन कार्यलाई छिटो, छरितो बनाएपछि अपेक्षितभन्दा बढी प्रगति देखिएको हो ।

चालू आर्थिक वर्षमा ६८६ मुद्दा पर्न सक्ने र ४२९ मुद्दा फछ्र्योट हुने अदालतको अनुमान छ । गत साउनयता हालसम्म २१ मुद्दा फछ्र्योट भइसकेको छ । अदालतमा बढीजसो सम्बन्धविच्छेद, जबर्जस्ती करणी, अंश, लेनदेन र ज्यानसम्बन्धी मुद्दा पर्ने गरेको न्यायाधीश न्यौपानेको भनाइ छ ।

“सम्बन्धविच्छेद र जबर्जस्ती करणीका मुद्दा वर्षेनी बढिरहेका छन्”, उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.