www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको मोहरेडाँडामा पाहुना घर

म्याग्दी ।

Lama collectio News Middle

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर निर्माण भएको हो ।

२७ लाखमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले जानकारी दिए । पर्यटन बोर्डले बीस लाख र गाउँपालिकाले दुई लाख अनुदान उपलब्ध गराएको पाहुनाघर बनाउन सामुदायिक लजको आम्दानीबाट पाँच लाख परिचालन गरिएको छ ।

नागीका डेढ सय घरधुरीले तीन-तीन दिन र हिमाञ्चल माविको ९ देखि १२ कक्षाका विद्यार्थी तथा शिक्षकले एक-एक दिन श्रमदान गरेका थिए । पाहुना घरमा ४० पर्यटक र तीस गाइड, पोर्टर, भरिया बास बस्न सक्ने क्षमता छ ।

यसअघि मोहरेडाँडाको सामुदायिक लजमा बीस जना क्षमताको दशकोठे एउटा भवन थियो । “पाहुनाको चापसँगै नयाँ भवन बनाएर क्षमता बढाएका हौँ”, पुनले भने, “नयाँ पाहुनाघर बनाएपछि पर्यटकलाई भान्छा र ‘डाइनिङ’ हलमा सुताउनुपर्ने समस्या हटेको छ ।” समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाको नजीकै बस्ती छैन ।

नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको मोहरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजाले बताए । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको उनले बताए ।

तीन लाखमा अप्ठ्यारो ठाउँमा सिँढी चिन्ने र झाडी हटाएर सहज रुपमा आवतजावत गर्न सक्ने बनाइएको छ । बस्ती नभएकाले यहाँ समुदायको पहलमा आठ वर्षअघि सामुदायिक लज शुरु गरिएको थियो ।

लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा परिचालन गरिएको छ । मोहरेडाँडाबाट हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु रेञ्जका २० भन्दा बढी हिमाल देखिन्छ ।

फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

घना गुराँसे जङ्गलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोटबिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरबिर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop