www.tandavnews.com
Fact ~ In search of truth

विकास र समृद्धिको पहिलो शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

विराटनगर ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उनले परियोजना बैंक खोलिने र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिने बताए । हिजो सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महीनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गरे । उनले भने, ‘ समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस छैन।’

आफ्ना कमी कमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै महानिरीक्षक खनालले सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न उनले सुझाव दिए।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव जीवनको सर्वोत्तम काम शान्ति सुरक्षा भएको बताए ।

आन्तरिक मामिला तथा कानून सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिए ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले प्रहरी समयसापेक्ष सुदृढ एवं बलियो हुँदै गएकाले समाजमा शान्तिसुरक्षा कायम गर्न सफल जनाए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.