www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीलाई सरकारी गाडी प्राइभेट बनाउने गरी सुरक्षा थ्रेट बढेकै हो त ?

पोखरा
ताण्डव न्यूज।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सेतो नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएको पाइएको छ ।

सुरक्षा थ्रेट बढेको भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाममा रहेको सरकारी गाडीलाई प्राइभेट नम्बर प्लेट राखिएको हो । तर, त्यो गाडी मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनी गुरुङले प्रयोग गर्दै आएकी छन् ।

Batas

पहिले नेपाल सरकार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको बा १ झ १३६३ नम्बरको स्कर्पीयो गाडी प्रदेश सरकारले आफ्नो नाममा नामसारी गर्यो । मुख्यमन्त्री कार्यालय मातहत रहने गरी नामसारी भएको उक्त गाडीको सरकारी नम्बर ग १ झ ४०७ कायम छ ।

तर, २०७५ फागुन २६ गते यातायात ब्यवस्था विभाग गण्डकीबाट तत्कालीन कार्यालय प्रमुख अच्यूतराज रेग्मीको स्वीकृतीमा ग १ झ ४०७ नम्बरको गाडीलाई रातो नम्बर प्लेटको बनाइयो । रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग ३ च १६२ नम्बर कायम भएको छ ।

यातायात ब्यवस्था विभागको स्रोतले भन्छ,‘हामी भन्दा माथिल्लो निकाय नै प्रदेश सरकार हो । यो कार्यालय नै प्रदेश सरकार मातहतको हो । प्रदेशकै मुख्यमन्त्रीको लागि गाडी रातो बनाउन प¥यो भनेपछि यहाँबाट रातो कायम गरेर पठाइएको हो ।’ यातायात ब्यवस्था विभागले अस्थायी स्वीकृत दिएको बताएको छ । मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै आग्रहमा यातायात ब्यवस्था विभागमा रातो बनाउन पत्राचार भएको थियो ।

राजनीतिक तथा प्रशासनिक हिसाबले मुख्यमन्त्री निकट स्रोतले भन्छ, ‘हाम्रो मुख्यमन्त्रीलाई त्यस्तो थ्रेट देखिँदैन । उहाँको मेडमलाई पोखरा–लम्जुङ आउजाउ गरिराख्न समस्या भएपछि त्यसो गरिएको देखिन्छ । मुख्यमन्त्री ज्यूले त्यो गाडी प्रयोग गरेको पनि थाहा छैन ।’ मुख्यमन्त्री पृथ्वीसुब्बाकी श्रीमती कुमारीमुनी लम्जुङ क्व्होलासोथार गाउँपालिकाकी उपप्रमुख हुन् ।

यसरी भएको छ दुरुपयोग

केहि दिन अघि यूकेमा भएको तमु धीको कार्यक्रममा सहभागि हुन पुगेकी कुमारीमुनी गुरुङ आइतबार (भदौ २९) काठमाडौँ आइपुगेकी थिईन् । उनी काठमाडौँ आएपछि यहाँबाट ग ३ च १६२ नम्बर राखेर नीजि बनाइएको गाडी उनलाई लिन आइतबार नै पोखराबाट गएको थियो । कुमारीमुनीलाई लिएर उक्त गाडी सोमबार पोखरा फर्कँदैछ ।

मुख्यमन्त्री कार्यालयले भने उक्त गाडी विग्रेकोले बनाउन काठमाडौँ गएको जानकारी दिएको छ । उक्त गाडीले नै उनलाई प्रायसधैँ लम्जुङ–पोखरा, पोखरा–लम्जुङ ल्याउने लैजाने गर्ने गरेको छ । कच्ची सडकमा सहजै जान सक्ने गाडी छनोट गरी उक्त गाडीको दुरुपयोग गरिएको हो ।

कुमारीमुनीको गाउँपालिका जान लम्जुङ सदरमुकाम देखि तीन घण्टा कच्ची सडकमा गाडीको यात्रा गर्नुपर्छ । उक्त गाडी मुख्यमन्त्रीले रातो बनाउनु भन्दा अघि प्रदेशका प्रमुख सचिबले प्रयोग गर्दै आएका थिए । प्रमुख सचिबको लागि नयाँ गाडी आएपछि उक्त गाडी प्रयोग विहिन भएको थियो ।

मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्रीले मासिक रुपमा पाउने मासिक २५० लिटर इन्धनबाटै चल्ने गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.