www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बागलुङ सडकमा झरेको पहिरोले ट्याक्सी बगायो, सडक अवरुद्ध

संजय रेग्मी,
पर्वत ताण्डव न्यूज ।

पोखरा बागलुङ सडक खण्डको पर्वत जिल्लामा पर्ने साना र ठुला पहिरोहरू पन्छाएर सडक सुचारु गराइएको भए पनि पर्वत र कास्कीको सिमानामा आएको पहिरो खुल्न भने  समय लाग्ने अनुमान गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने झोबाङको भिरबाट खसेको पहिरोले पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गएराती झन्डै एक बजेको समयमा ठुला चट्टानहरू सहित आएको पहिरो पन्छाउन निकै सकस परिरहेको पहिरोस्थलमा रहेका ट्राफिक प्रहरी हवलदार आशिष क्षेत्रीले बताए ।

Batas

उनका अनुसार बिहान सबेरैदेखि सडक खुलाउने प्रयास गरिएको भए पनि भीरबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक नै जोखिममा रहेको छ । ‘पहिरोसँगै लेखो र कडा खालका चट्टानहरू पनि सडकमा जम्मा भएको छ। हामी निरन्तर खटिरहेका छौँ ।’

उनले भने, ‘सडकमा जम्मा भएको चट्टान हटाउन ब्रेकर हान्नै पर्ने अवस्था छ, तर ब्रेकर हान्दा भीर थर्किएर माथिबाट पहिरो झनै बढेर आउने देखिएकोले समस्या भएको छ ।’ कास्कीको पोखरा हुँदै साबिकको धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका लागि छुटेका धेरै सवारीहरूको कास्कीको ढावामा नै रातीदेखि नै रोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, कास्कीकै नागडाँडा नजिकै पोखरा बागलुङ सडक खण्डमा नै पहिरो झरेको छ । नागडाँडाको पहिरो खुलाउनको लागि बिहानैदेखि प्रयास भइरहेको छ । यसैगरी, कास्कीकै हेम्जा नजिकैको फेदीको भीरमा पनि पहिरोले पोखरा बागलुङ सडक खण्ड अवरुद्ध गराएको छ । त्यहाँको पहिरो पनि खुलाउने प्रयास भइरहेको छ ।

फेदीमा गएको पहिरोले साना सवारीलाई भने असर पार्न सकेको छैन् । पोखराको विन्दवासिनी मन्दिरबाट सराङकोट हुँदै नागडाँडा निस्कने वैकल्पिक सडकमा ठुला सवारी चलाउन अनुमति नभएको साना सवारीहरू भने चलिरहेका छन् । तर ती सवारीहरू पनि नागडाँडा र नयाँपुलमा खसेको पहिरोको कारण अलपत्र परेका छन् ।

यसैगरी, पर्वतको कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण खोलामा आएको भेलले आज बिहान पौने पाँच बजेको समयमा ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो । खोलामा भेल आएको देखेपछि बिरामी उनका आफन्तलाई केही पर नै झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्याउँदा हिलोमा फसेको थियो ।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सोही ठाउँमा अबरुद्ध भएको कुस्मा पोखरा सडक खण्ड दोहोरो रूपमा खुलाउने प्रयास भइरहेको छ । गिलमेरी खोलामा आएको बाढीले गिट्टी र ढुङ्गा सडकमा थुपारेकोले जे.सी.बी. को सहायताले एकतर्फी रूपमा मात्र बाटो सञ्चालनमा आएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताए ।

खोलामा अहिले पनि ठुलो भेल आएका कारण पोखरादेखि कुस्मा हुँदै बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरू जाममा परेका छन्। प्रहरीले बिहानैदेखि एकतर्फी रूपमा बाटो खुलाएको भए पनि दुईतर्फी रूपमा बाटो सुचारु हुन भने केही घण्टा लाग्न सक्ने प्रहरीको अनुमान छ ।

यसैगरी, जिल्लाको मोदी गाउँपालिका ५ अम्बोटको ओडारेमा गएको पहिरो प्रहरीले आधा घण्टामा नै खुलाएको छ । ट्राफिक चेक पोस्ट डिमुवाका इन्चार्ज रेसम थापाका अनुसार मङ्गलवार बिहान झन्डै साढे ४ बजेको समयमा सडकमा पहिरो आएपछि पोखरा बागलुङ सडक अवरुद्ध भएको थियो । डिमुवा प्रहरी चौकी र ट्राफिक चेक पोस्टबाट गएको प्रहरीले पहिरो आधा घण्टामा नै पन्छाएपछि बिहान पाँच बजेबाट नै सडक सुचारु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.