www.tandavnews.com
Fact ~ In search of truth

सांस्कृतिक ग्राम बन्दै सिक्लेस

पोखरा ।

कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ ।

गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने तयारी गरिएको बताए। सांस्कृतिक ग्राम बनाउनका लागि सिक्लेसको सबै घर परम्परागतशैलीमा एकै किसिमको निर्माण गर्ने एवं नयाँ संरचना निर्माण गर्दा वडासँग समन्वय गरेर मात्रै निर्माण गर्न पाइने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाले १० लाखको लागतमा सांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)को तयारी गरिरहेको छ । सिक्लेसका सबै चोक, चौतारो, बाटो, धारा एकैनासको बनाइने र गाउँमा आउने पाहुनालाई गुगलमार्फत घर नम्वर सर्च गरेर जान सक्ने व्यवस्था गरिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

झण्डै बाह्रौं शताब्दीदेखि बस्ती विकास भएको विश्वास गरिने सिक्लेसमा गुरुङ जातिको उद्गमस्थल क्होंला सोंथरमा बस्ती हुँदैदेखि अस्तित्वमा आएको विश्वास गरिन्छ । विसं २००० देखि अढाई दशकअघि र पछिको समयमा यहाँका जनसङ्ख्या उत्कर्षमा पुगेकोमा त्यसपछि भने त्यहाँबाट अन्य स्थानमा बसाइँ सर्ने क्रम बढेको स्थानीयवासी बताउँछन् ।

परम्परागत सिकारी युगदेखि कृषि युगहुँदै वैदेशिक रोजगारी र पछिल्लो समयमा पर्यटकीय रुपमा यस स्थानको विकास हुँदै गएको छ । पोखरादेखि उत्तरपूर्वी भाग अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ ।

गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहनसहन, वेषभूषा जस्ता सामाजिक मूल्य मन्यता रहेका कारण यो गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय जस्तै बनेको छ । ठूला–ठूला चौर, पहाड, पाखा, पखेरा, झरना, छाँगा, नदीनाला, हिमशृङ्खला, हरिया वनजङ्गल र विभिन्न प्रजातिका वनस्पति आदिले यहाँको गरीमा र महत्व बढाएको छ ।

यस्तै परम्परागत सामाजिक संरचना, मौलिक, वेषभूषा, खानपिन, सामाजिक, संस्कृतिक वातावरण, कृषि पशुपालन पनि यहाँका मौलिकता हुन् । गाउँको वरिपरी चारैतिर विभिन्न स्थानमा रहेका सिमेभूमे, देवीदेउराली आदि यहाँका धर्म संस्कृतिसँग जोडिएका स्थल हुन् ।

पोखरादेखि हिँडेर कम्तीमा एकदिन लाग्ने सिक्लेसमा अहिले भने सवारी साधन हुँदै पुग्न सकिन्छ । हाल कूल ४५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर चिन्ने गरिन्थ्यो । यहाँ गुरुङको सङ्ख्या बाहुल्य छ भने विश्वकर्मा र परियार पनि केही मात्रमा छन् ।

नेपालको १२ वर्षे द्वन्द्वात्मक अवस्थाको अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक भएका कारण यस स्थानको महत्व अझै चुलिएको छ । शान्ति प्रक्रियाको उद्गमस्थल भएकै कारण यही गाउँमा गाउँपालिकाले शान्ति स्मारक निर्माण गरिसकेको मादी गाउँपालिका–१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए ।

प्राचीन इतिहासको जगेर्नाका लागि लोपोन्मुख भइसकेका पौराणिक सामग्रीको संरक्षण तथा जगेर्ना गर्नेको लागि इकोम्युजिक सिक्लेस २०७१ सालदेखि सञ्चालनमा आएको छ । वडाध्यक्ष गुरुङका अनुसार पर्यटकको बढ्दो आगमनसँगै यस स्थानमा होटेल तथा घरवास कार्यक्रमले गति लिएको छ । हाल २० वटा घरमा घरवास सञ्चालन छ भने १० वटा होटेल सञ्चालनमा छन् ।

यो ठाउँ परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो गुन्द्री उत्पादनमा पनि प्रख्यात रहेको उनले जानकारी दिए । तमु संस्कृतिको संरक्षण र विकासलाई लक्षित गरी गाउँमा दुई वटा क्होईबु निर्माण गर्न लागिएको छ ।

“सिक्लेस प्राचीन संस्कार एवं संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै रहेको छ”, सिक्लेस युवा क्लबका पूर्वसचिव देवीजङ्ग गुरुङले भने “यो गाउँ प्राचीन संस्कार र संस्कृतिका अध्येताका लागि उपयुक्त गन्तव्य रहेको छ । ”

प्राचीन इतिहासको साक्षी सिक्लेसको मौलिकतालाई जोगाउँदै यहाँका प्राचीन संस्कार र संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्न सांस्कृतिक ग्रामको अवधारणा बहुउपयोगी बन्ने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.