www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको तिलाहारका १५ घर पहिरोको जोखिममा

ताण्डव न्यूज, पर्वत ।
पर्वतको मोदी गाउँपालिका ६ तिलाहरमा रहेको नवजागृत मा.वि.को भवन बनाउन डोजरले भित्ता खनेका कारण स्थानीय १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । डोजरको प्रयोग गरेर एक महिना अगाडि बस्तीकै मुनिबाट भित्ता काटिएका कारण खनिएको भागभन्दा माथि रहेका घरहरु बर्षासँगै पहिरोको उच्च जोखिममा परेका हुन् ।
स्थानीय पदमनाथ जी.सी. का अनुसार तत्कालका लागि पहिरोका जोखिम टार्नका लागि वडा कार्यालयको सहयोगमा घर वरीपरीको भागमा प्लास्टीक र त्रिपाल बिछ्याएर पानी तर्काउने प्रयास गरिएको छ । लगातार भइरहेको बर्षाका कारण त्रिपालमुनी समेत पानी पस्न थाल्दा डोजरले खनेको तल्लो भागबाट जमिन लच्किन सुरु गरेकाले विद्यालयको भवन निर्माण थालिएसँगै दिनको भोक न रातको निद्रा भएको स्थानीयको गुनासो छ । विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण गर्नको लागि बस्ती भन्दा तल्लो भागमा दुई कोठा रहने भवन निर्माण गर्न लागिएको छ । स्थानीयका अनुसार भवन निर्माणको लागि खनिएको भागमा डोजर लगाए लगत्तै पक्की पर्खाल निर्माण गर्न सकेको भए बस्ती जोखिममा पर्ने सम्भावना टर्न सक्ने थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले पनि डोजरले खनेपछि निर्माणाधीन भवनभन्दा माथि रहेको बस्ती जोखिममा परेको स्वीकार गर्दै काम गर्ने बेलामा सावधानी अपनाउँदा अपनाउँदै पनि यो अवस्था आएको बताए । निर्माण समिति, विद्यालय प्रशासन र स्थानीय समुदायको बिचमा यसको क्षतिपूर्ति तिर्ने विषयमा सल्लाह भइरहेको पनि प्रधानाध्यापक सुवेदीको भनाई छ । भवन निर्माण पूर्व गरिने अध्ययनको क्रममा भवनभन्दा माथि रहेको बस्तीको भविष्यको बारेमा अनुमान नगरी हचुवाको भरमा भवनको निर्माण कार्य सुरु गरिएको स्थानीयले आरोप लगाएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.