www.tandavnews.com
Fact ~ In search of truth

काठे पुलमाथि जोखिमको यात्रा

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्युज ।

‘रोजगारीको लागि विदेशमा थिएँ, अब स्वदेशकै गाउँमा केही गर्नुपर्छ भनेर तरकारी खेती सुरु गरेको छु । जति धेरै तरकारी लगायो जीवन उत्तिकै धरापमा छ,’ पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका शिवप्रसाद शर्माले भने, ‘खोलापारी खेत र तरकारीबारी छ, खोला वारी घर छ । खोलो तर्न नै मुस्किल छ, हामीहरुको दैनिकी साँघुमा तेर्साएका काठमा धानिएको छ ।’

जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी र कुश्मा नगरपालिका १२ पिपलटारीको सिमानामा सिमखेत पर्छ, त्यही सिमखेतमा सिसाठाँटी भन्ने ठाउँ छ । कुनै जमानामा नाम चलेको सिसाठाँटीको शेष अहिले पनि बाँकी छ । सिसाठाँटीको नजिकै मल्याङ्दी खोला बगिरहेको छ । मल्याङ्दी खोला हिउँदमा सामान्य बन्ने गरेको भएपनि बर्खा याम र बर्सातको समयमा गड्गडाउँदै बग्छ ।

त्यही खोला तरेर सिमखेतबासीहरु ओहरदोहर गर्छन । तर बिडम्बना यो छ की दैनिक सयौँको संख्यामा स्थानीयहरु खोलामाथिको साँघुबाट ज्यान जोखिममा राखेर यात्रा गर्छन, उनीहरुको लागि एउटा पुल बन्न सकेको छैन् ।

खोलामा पुल नहुँदा शिव शर्मा जस्तै धेरै स्थानीय जीवनलाई खोलामा दाउमा लगाउँदै साँघुबाटै वारपार गरेर खेती गर्छन् । कुश्मा र शंकरपोखरी आउजाउ गर्छन्, विद्यालय जान्छन् । झण्डै ३० बर्षदेखि स्थानीयले पुल बनाईदिन अनुरोध गर्दै मन्त्रालयसम्म पनि पुगेका छन् । तर निरीह नागरिकका बोली र अनुरोध सुनिदिने कोही पनि भएनन् ।

हरेक प्रकारका निर्वाचनको बेलामा मत बटुल्न पुलकै सपना बाँड्ने नेताहरु पनि निर्वाचनपछि भने तीनै स्थानीयसँग बेखबर बनिदिन्छन् । निर्वाचनको बेलामा होस वा नेताका अघिपछि हिँड्नुपर्ने कुनै पनि समयमा सिमखेतबासीहरुलाई स्थानीय मल्याङ्दी खोलामाथि रहेको काठे साँघुको विस्थापनको सपना बाँडिन्छ तर जब आश्वासन दिनेहरूका सपना पूरा हुन्छन्, स्थानीयका सपनाहरू फेरि तुहाइन्छन्।

कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्र्याङ्दी खोलामा झन्डै ३० वर्षदेखि काठका खम्बा तेर्साइएको छ। हरेक वर्ष बर्खाको पानीले ती काठ कुहिन्छन्, अनि अर्को वर्ष पनि काठ फेरिन्छ, त्यसैलाई पुल मान्दै दुई गाउँ र दुई पालिका आउजाउ गरिन्छ। हिउँदको समयमा मल्र्याङ्दी खोलामा जोखिम नभएपनि बर्खा याममा उर्लिएर भेल आउँछ त्यही भेलमाथि जोडेर राखिएका काठका तीन ओटा पोलबाट गाउँपालिका स्थानीयहरू आवतजावत गर्छन्।

पिपलटारीबासीको केही खेत शंकरपोखरीमा छ अनि शंकरपोखरीका स्थानीयको केही खेत पिपलटारीमा छ। त्यतीमात्रै होइन, दुवै तर्पm माध्यमिक तहका विद्यालयहरू छन्। शंकरपोखरीका विद्यार्थीहरू पिपलटारी र पिपलटारीका विद्यार्थी शंकरपोखरीमा अध्ययनका लागि आउजाउ गर्छन्। अध्ययनका लागि होस वा कृषिका लागि नै किन नहोस् आउजाउ गर्दा हरेक दिन जीवनलाई दाउमा राख्दै गुजार्नुपर्ने उनीहरूको बाध्यता छ।

Lama collectio News Middle

‘पोहोर असारमा पनि हाम्री बुहारी लिर्केर साँघुबाट खोलामा खसिन्, बगाउँदै तलसम्म लग्यो, यहीका नारन भन्नेले घाँस काट्न लागेका रहेछन्, कस्सो देखेर खोलामा हाम फालेर बुहारीलाई बचाए।

यस्ता घटना पटक पटक भइसकेका छन्’ स्थानीय माया अधिकारीले भनिन, ‘पुल ल्याउँछम ल्याउँछम भनेको त कति वर्ष भयो, तर पुल आएन, पुल पर्खिदा पर्खिदै बुढ्यौली लाग्यो।’

साँघु तर्दा जति नै जोखिम भए पनि वारपार नगरेसम्म हातमुख जोड्ने जोहो नहुने भएकोले ज्यान जोखिममा राखेर जीवन काटिएको अर्का स्थानीय प्रेमबहादुर कार्की बताउँछन्। ‘यस्तो आवश्यक छ कसैले चासो राख्दैनन्। वरिपरि यत्रो ठूलो गाउँ छ,’ उनले भने, ‘सिमानामा परेर बाँच्नुको पीडा जहाँ पनि यस्तै हुँदो रहेछ की? हामीलाई बेवास्ता गरिएको हो? मेसो पाउनै सकिएन।’ कार्कीका अनुसार खोलाले खेतीपाती र घाँस दाउरा गर्न आउजाउ गर्ने, अध्ययनका लागि विद्यालय जाने तथा बजार आउजाउ गर्ने धेरै स्थानीयले पटक पटक बगाउँछ। तर खोलाको छेउमा बस्दै आएका कारण पौडी खेल्न सक्ने सीपका कारण पटक पट्क स्थानीयको ज्यान जोगिएको छ।

खोला किनारमा दुबैतर्फ खेतीयोग्य जमिन भएकोले मल्र्याङ्दीको पानीले माछा पालन, बंगुरपालन, तरकारी खेती लगायतका उत्पादनमूलक काम गर्ने सकिने स्थानीयवासी बताउँछन्। जग्गा उत्पादनयोग्य रहेको भने दुई गाउँका बासिन्दाको खेत वारी र पारी भएकोले खोलाकै जोखिमका कारण खेतीपाती गर्न नै समस्या भएको उनीहरूको गुनासो छ।

खोलामा पुल चाहियो भन्दै स्थानीयले सार्वजनिक मञ्च, तत्कालीन जिविस, सम्बन्धित सरकारका विभाग र मन्त्रालयसहित पुग्नुपर्ने ठाउँमा धेरै पटक पुगिसकेका छन्। तर कसैले पनि सुनुवाइ नगरेपछि उनीहरू अहिले पुलको माग गर्दै अन्यत्र धाउन छाडेको भए पनि स्थानीयले सरकारसँग भने पुलको माग राखिरहेका छन्।

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले धेरै ठाउँमा वर्षौदेखि यही माग राख्दै आएको भए पनि कसैले वास्ता नगरेको बताए। ‘साँघु भएको ठाउँलाई सिसाठाँटी भनिन्छ, त्यहीँबाट कार्कीनेटाबाट जाने सडक लाने कुरा पनि भएको छ, अब झोलुङ्गे पुल होइन मोटरेबल पुलको आवश्यकता भएको छ,’ उनले भने, ‘कुश्मा र फलेवास दुवै नगरपालिकाले लगानी गरेर हुन्छ वा प्रदेश वा संघीय सरकारलाई भनेर यहाँ तुरुन्त पुलको आवश्यकता छ।’

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भने पिपलटारी र शंकरपोखरीलाई जोड्ने कुरा खोलाको दुवै तर्पmको किनारमा मोटर बाटो पुगेका कारण अब खोलामा मोटरेबल पुल नै निर्माण गर्ने र त्यसका लागि केन्द्रीय सरकारलाई अनुरोध गर्ने बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop