www.tandavnews.com
Fact ~ In search of truth

कीर्ते आरोपमा पूर्वसांसदसँगै सिनियर डिभिजनल इञ्जिनियर जेल चलान

सप्तरी।

कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ । जिल्ला अदालतले गत जेठ ६ गते उनलाई चार लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

Batas

जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।उच्च अदालत जनकपुर राजविराज इजलाशले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन् ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत वैशाख ५ गते पक्राउ परेका थिए ।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनियर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.