www.tandavnews.com
Fact ~ In search of truth

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा पाँच बुँदा समेटिएका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान प्रदान गर्ने र हाल सञ्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका मोडलका अनुभवको आदानप्रदान गर्नेलगायतका बुँदा समझदारीपत्रमा समावेश छन् ।

उपप्रमुख रिजालले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीच अलग– अलग मैत्री सम्बन्ध रही आएकामा नेकपा गठन भएपश्चात् दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरण भएको रुपमा समझदारीलाई लिनुपर्ने बताए ।

उनले समझदारीलाई कुनै अन्यथा रुपमा लिनु नपर्ने उल्लेख गर्दै विगतदेखि नै चलीआएको नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मित्रवत् सम्बन्धको निरन्तरताको रुपमा लिनुपर्नेमा जोड दिए ।

दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित र नयाँ उचाइमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको छ ।सोही प्रतिबद्धताअनुसार नै हामी थप अगाडि बढिरहेको समेत स्पष्ट पारे । चिनियाँ राष्ट्रपति सी जिन पिङको चाँडै हुन लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक सोमबार संयुक्तरूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.