www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सञ्जालबाट संकलित रकम तनहुँकी घाईते बालिकालाई सहयोग

तनहुँ ।

धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएका छन् ।

तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो ।

दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाव दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा ल्याउन सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो ।

चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बीरसहित फेसबुकमा पोष्ट गर्दै सहयोगका लागि आह्वान गरेका थिए । फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै ५० हजार सङ्कलन गर्न सफल भएको मगरले जानकारी दिए।

“फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र सङ्घ संस्थामार्फत् सहयोग जुट्यो,” उनले भने, “उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो ।”पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए । मगरका अनुसारपीडित बालिकाको उपचारका लागि एक लाख ३३ हजार ५०० सङ्कलन भएको छ ।

उनको उपचारका लागि ५८ हजार पाँच सय खर्च भएको र बाँकी ७५ हजार दमौलीस्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ । “बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ,” उनले भने, “ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ ।” निर्मला चेपाङ सहयोग अभियानमार्फत् सङ्कलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ ।

पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । पीडितबालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदूरी गर्दै आएका छन् । दैनिक मजदूरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था रहेको छ ।

“दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्ने समस्या भएको थियो,” उनले भने,“रकम सङ्कलन भएपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.