www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

काठमाडौं ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ ।

लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।उनको अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ ।

डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्यअन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म जान अहिले फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट दुई किलोमिटर पर पर्दछ । केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको मागअनुरुप शहरी विकास मनत्रालयले निर्माणको काम अघि बढाएको हो ।

निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । दुई वर्षका लागि भनेर विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन गरिँदै आएको छ ।

सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आएकाले पछिल्लो समय त्यहाँका स्थानीय बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दबाब दिएपछि बञ्चरेडाँडामा निर्माणको काम शुरु गरिएको हो ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.