www.tandavnews.com
Fact ~ In search of truth

पोखराको वेस्टर्न हेल्थ साइन्स एकेडेमीमा मन्त्री र उच्च पदाधिकारीको भ्रष्टाचार बढ्यो : सांसद थापा

'ऐन मिचेर पद्म नर्सिङ किनबेचको प्रपन्च हुँदैछ'

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले पोखरा ११ काहुँ भञ्ज्याङमा रहेको वेस्टर्न हेल्थ साइन्स एकेडेमीले गण्डकी प्रदेशका विद्यार्थीहरुलाई पाखा लगाउने गरिरहेको आरोप लगाएका छन् ।

बुधबार गण्डकी प्रदेश सभामा बोल्दै सांसद थापाले एकेडेमीले फार्मेसी पढ्न चाहने यस क्षेत्रका विद्यार्थीहरुमाथी गम्भीर खेलवाड गरेको बताए ।

Batas

उनले भने, ‘सिटीइभीटीबाट सम्बन्धन प्राप्त यस एकेडेमीले सिटीइभीटीकै भ्रष्ट कर्मचारीसँग मिलिमतो गरी गण्डकी प्रदेशका विद्यार्थीलाई पाखा लगाएर अन्य प्रदेशका विद्यार्थीहरुलाई भर्ना गर्ने प्रपञ्च रचिरहेको छ ।’ गण्डकी प्रदेशकै विद्यार्थीहरु फार्मेसी पढ्न बन्चित गराउने गरी अन्य प्रदेशका विद्यार्थीसँग मोटो रकम लिएर भर्ना गर्न लागिएको खबर जानकारी आएको उनको भनाई छ ।

‘गण्डकी प्रदेशमा फार्मेसी पढ्न १६३ जनाले आवेदन दिएका छन् । जसमा यहि प्रदेशका १०० जना भन्दा धेरै विद्यार्थी फार्मेसी पढ्न बञ्चित हुने अबस्था निम्त्याइँदैछ,’ उनले भने, ‘यसले पोखरा र आसपासका विद्यार्थीलाई भर्ना गर्नबाट बञ्चित गरेर अन्य प्रदेशका विद्यार्थीबाट लाखौँ रकम असुलेर अन्य प्रदेशका विद्यार्थीलाई भर्ना गर्ने खेल भइरहेको छ । प्रदेश भित्रका विद्यार्थीको प्राविधिक कलेजमा पहुँच गौंण हुनेगरी संघीयताको मर्म विपरित संघको दबदबा कायम राख्न खोजिएको बुझिएको छ ।’

उनले स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादबको ब्यक्तिगत स्वार्थ पृष्ठपोषण गर्न नर्सिङ काउन्सीललाई दबाब र प्रभावमा पारेर अस्पताल नभएका, बेड संख्या कम भएको ठाउँमा नर्सिङ कलेजलाई कार्यक्रम सञ्चालन गर्न दिएको पनि बताए ।

काहुँमा रहेको उक्त एकेडेमीमा ३ वर्षे फार्मेसी पढाई हुँदै आएको छ । गण्डकी प्रदेशका विद्यार्थीलाई पाखा लगाएर प्रदेश २ को सप्तरी, सिराहा र प्रदेश ५ को रुपन्देही र कपिलबस्तु लगायतका जिल्लाका बैकल्पीकमा रहेका विद्यार्थीलाई भर्ना गर्न खोजिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले यस घटनामा पोखराको पद्म नर्सिङ कलेजको पनि मिलीमतो रहेको उनको आरोप छ ।

गण्डकीमा रहेको सिटीइभीटीको कार्यालयलाई बेवास्ता गर्दै सिधै केन्द्रीय कार्यालयबाट कागजी प्रक्रिया मिलाएर बाह्य प्रदेशका विद्यार्थी भित्र्याउन लागेको उनले बताए । स्वास्थ्यमन्त्रीबाटै प्राविधिक शिक्षा गुणस्तरहिन बनाउने खेल भएको उनको आरोप छ ।

‘पोखराको पद्म नर्सिङ कलेजलाई विधि, प्रक्रिया मिचेर किनबेच गरिँदैछ’ उनले भने, ‘प्रक्रिया नै नपुग्ने रिजनल कलेजले पद्म नर्सिङ गर्न केन्द्रसम्म सेटिङ मिलाइरहेको छ । यसमा नर्सिङ काउन्सीलका अध्यक्ष गोमा निरौला, रजिस्टार बृन्दा घिमिरे तथा स्वास्थ्य राज्यमन्त्री यादबको संलग्नता रहेको छ । म माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.