www.tandavnews.com
Fact ~ In search of truth

सङ्कट समाधानका लागि गम्भीर बन्न वनमन्त्री बस्नेतको अपिल

काठमाडौं ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित सङ्कट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी जलवायुकार्य शिखर सम्मेलनको कार्यक्रममा सम्बोधन गर्दै उनले सो अपिल गरेको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकोतर्फ मन्त्री बस्नेतले विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’लाई सम्बोधन गर्दै उनले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमालीमुलुक बढी प्रभावित भएको चर्चा गर्दै उनले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्नेबारे ध्यानाकर्षण गराएका थिए ।

उनले जलवायु परिवर्तनको असरबाट साना र गरीब मुलुक बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गर्दै त्यसका लागि गरीब र साना मुलुकले अहिले गर्दै आएका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरेका थिए ।

मन्त्री बस्नेतले राष्ट्रसङ्घका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आनादप्रदान गर्नुपर्ने र नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको जानकारी दिँदै विसं २०७६ लाई राष्ट्रिय वृक्षरोपण वर्षका रुपमा मनाइरहेको जानकारी गराएका थिए।

एशियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको जानकारी गराउँदै त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय-अन्तर्राष्ट्रिय साझेदारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.