www.tandavnews.com
Fact ~ In search of truth

राजधानीमा दशैंका बेला फोहर व्यवस्थापन गर्न समस्या

काठमाडौं ।

काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ । बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो ।

दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशैँमा फोहर व्यवस्थापन गर्न समस्या हुने उनी बताउँछन् । अन्य समयमा भन्दा वर्षातको समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहर बढी हुन्छ ।

काम नभएको समयमा थोरैको अनुपातमा फोहर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहर व्यवस्थापन हुन सकेको छैन । “अहिलेदेखि नै फोहर थुप्रिदा दशैँमा थप समस्या हुन्छ”, श्रेष्ठले भने ।

दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा बिसर्जन गरिन्छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर फाल्न प्रयोग गरिँदै आएको छ । ससडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.