www.tandavnews.com
Fact ~ In search of truth

वृद्धाश्रमका ज्येष्ठ नागरिक नागरिकताबाट बञ्चित

पोखरा ।

Lama collectio News Middle

आफन्त कोही नभएपछि बेवारिसे बनेका ७५ वर्षीय हितलाल विष्टले बास र गाँस त पाए नै तर नागरिकता नपाउँदा उनी अहिले पनि चिन्तित छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरेपछि जाने ठाउँ र लैजाने आफन्त कोही पनि नभई बेवारिसे बनेका उनी जिल्ला प्रशासन कार्यालय कास्कीको सहयोगमा पाँच वर्षअघि पोखरा वृद्धाश्रममा पुगेका थिए ।

त्यस्तै पोखराको सडकमा बेवारिसे भेटिएकी करीब ८० वर्षीया उजेली गुरुङलाई प्रहरीको गस्ती टोलीले उद्धार गरी सोही आश्रममा ल्याएको छ वर्ष भइसकेको छ, तर उनको पनि न ठेगाना छ न त नागरिकता नै । पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालनमा रहेको वृद्धाश्रममा उनीहरु प्रतिनिधिपात्र मात्र हुन् । आश्रममा उनीहरुसहित अहिले १२ ज्येष्ठ नागरिक नेपाली नागरिकताबाट बञ्चित छन् ।

समाजका असहाय बेसहारा ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ विसं २०५३ मा स्थापित सो वृद्धाश्रममा आउने अधिकांश वृद्धवृद्धा नागरिकताविहीन छन् । सरकारी पक्षको ध्यान नपुग्दा जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत उनीहरूले नागरिक प्राप्त गर्न नसकेको वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले बताए ।

“सडक तथा अस्पतालमा आफन्त नभई बेवारिसे एवं परिवारबाट अपहेलित समाजका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले सेवा दिएको छ नै उनीहरू नागरिकताकै अभावमा राज्यबाट पाउने सुविधाबाट विमुख बनेका छन्”, उनले भने ।

नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहित समाजका विभिन्न सङ्घसंस्थाबाट आश्रममा ज्येष्ठ नागरिक आउने गरेको उल्लेख गर्दै उनले निरन्तर प्रयास गर्दा पनि अहिले पनि त्यहाँका वृद्धवृद्धा मुलुकको नागरिक बन्न नसकेका बताए ।

आश्रममा आश्रित ६५ ज्येष्ठ नागरिकमध्ये काली पराजुली, लालकुमारी सापकोटा, नारायण ठकुरी, विष्णुकुमार प्रजापति, प्रेमबहादुर राई, सफाचट चौधी, हरिबहादुर थापा, रामचन्द्र चौधरी, फूलमाया भुजेल र धनबहादुर घलेको कुनै पनि पहिचान नखुलेको अध्यक्ष पराजुलीको भनाइ छ ।

वृद्धाश्रमको पहलमा विसं २०६५ मा जिल्ला प्रशासन कार्यालयद्वारा पाँच ज्येष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

जन्मस्थान थाहा नभएको, बाबुको नाम पत्ता नलागेको भनी तत्कालीन समयमा आश्रममा आश्रितले नागरिकता पाए पनि त्यसयता भने कसैले पनि पाउन नसकेको वृद्धाश्रमले जनाएको छ ।

नागरिकताकै अभावमा राज्यबाट पाउने कुनै पनि सेवासुविधा नपाउँदा उनीहरुलाई थप पीडित बनाएको निवर्तमान अध्यक्ष टीकाबहादुर भण्डारीले जानकारी गराए । राज्यका विभिन्न निकायबाट वृद्धाश्रम पुग्ने अधिकारीलाई नागरिकता पाऊ भन्दै आग्रह गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको उनीहरुको दुखेसो छ ।

हालै संविधान दिवसका अवसरमा वृद्धाश्रम पुगेका गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापासँग पनि उनीहरुले यस्तै पीडा व्यक्त गर्दै नागरिकता दिलाइदिन आग्रह गरेका थिए । नागरिकता ऐन २०६३ अनुसार पहिचान नखुलेका नागरिकलाई नागरिकता नमिल्ने प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले जानकारी दिए ।

सो वृद्धाश्रमलगायत देशका विभिन्न सङ्घसंस्थामा आश्रित व्यक्ति नागरिकताबाट बञ्चित रहेका पाइएका बताउँदै उनले टोली खटाएर उनीहरुको पहिचान खोजिने र नागरिकता उपलब्ध गराउन पहल गरिने उल्लेख गरे । यस्तै बेवारिसे बालबालिका जन्मदर्ता नभएकै कारण अध्ययनलगायतका समस्या भोग्नुपर्ने अवस्था पनि टड्कारो देखिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery