www.tandavnews.com
Fact ~ In search of truth

दशैँका च्याङ्ग्रा पोखरा भित्रदै, मूल्य कति ?

पोखरा । 

नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ ।

व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो ।

Batas

दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५/२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ । “माथिबाटै ट्रकमा ल्याउँदा च्याङग्रा मर्ने सम्भावना अत्याधिक हुन्छ,” च्याङग्रा व्यापारी रामचन्द्र नेपालीले भने , “ठाउँ ठाउँमा चराउँदै ल्याउनुपर्ने भएकाले पोखरा ल्याई पु¥याउन धेरै दिन लाग्ने गरेको छ ।”

विगत केही वर्षयता लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका नेपालीले यस वर्ष त्यहाँको चराङस्थित डि गाउँबाट १९१ वटा च्याङ्ग्रा ल्याएका छन् । मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५/२६ हजार पर्ने गरेका कारण यस वर्ष पोखरामा बिक्री मूल्य रु ३५/३६ हजारसम्म पर्ने उनले जानकारी दिए ।

झण्डै एक महीना अघिदेखि नै मुस्ताङमा च्याङ्ग्राको किनबेच शुरु भएको बारागुङमुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले त्यहाँबाट बिक्रीका लागि पोखरातर्फ झारिएकाप्रति च्याङ्ग्राको रु २० का दरले राजश्व लिएको छ ।

अन्य गाउँपालिकामा राजश्व तिरेर आएका व्यापारीका लागि भने गाउँपाँलिकाले थप राजश्व नलिएको उनले जानकारी दिए । हालसम्म मुस्ताङबाट झण्डै १८ हजारको सङ्ख्यामा च्याङ्ग्रा झरिसकेको हुनसक्ने जानकारी दिँदै उनले कतिपय झर्ने क्रममा रहेको बताए ।

च्याङ्ग्रा झार्दै गर्दा पोखराको हेमजामा यतिखेर च्याङ्ग्रा राख्ने खोर बनाउन पनि भ्यानभ्याइ छ । कतिपयले जग्गा भाडामा लिएर खोर बनाउने गरेका छन् । दशैँलाई लक्षित गरी च्याङ्ग्रा राख्नका लागि विगत केही वर्षयता खोर बनाउँदै आएका सिमपानी निवासी रमेश दवाडीले यस अवधिमा प्रतिखोर रु १५ हजार भाडा लिने गरेको जानकारी दिए ।

दशैँका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बेचेर फर्कने गरेका छन् । यस अवधिमा बेच्न नसके सस्तो मूल्यमा बेचेर फर्कनुपर्ने गरेको व्यापारीको तितो अनुभव छ । विगत केही वर्षयता बझाङको साइपाल गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका साइपाल गाउँपालिका–१ का उज्जन बोहोराले अहिले ११४ वटा च्याङ्ग्रा ल्याएका छन् ।

अघिल्लो वर्ष ११२ च्याङ्ग्रा ल्याएको जानकारी दिँदै उनले दशैँको अष्टमी, नवमीसम्म पनि सबै बिक्री नहुँदा रु आठ हजारसम्ममा बेचेर फर्कनुपरेको दुःखेसो सुनाए । यस वर्ष बझाङको साइपालबाट आफूले बिक्रीका लागि च्याङ्ग्रा ल्याएको उनले जानकारी दिए । पोखरापछि आसपासका जिल्लामा पनि च्याङ्ग्राको लोकप्रियता बढ्दै गएको छ ।

पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् । पछिल्ला समयमा काठमाडौँमा च्याङ्ग्राको माग बढे पछि खाद्य संस्थानमार्फत पु¥याउन थालिएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.