www.tandavnews.com
Fact ~ In search of truth

खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढीः प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिए ।

उनले भने, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसै गरी बन्ने हो ।”

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताए । यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, सङ्क्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।

“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छौ । अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ ।” उनले भने, “सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका थिए । साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गरे । घोषणालाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.