www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा महँगियो च्याङ्ग्राको भाउ

बागलुङ ।

 

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य २९ हजार र मासुको प्रतिकिलो १४ सय पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा २७ हजार थियो ।

खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन् । “अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी पर्यो”, व्यापारी खत्रीले भने, “आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।” व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन् ।

Batas

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।

मुस्ताङमै च्याङ्ग्राको मूल्य २३ हजार परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्याङ्ग्रा आउँथ्यो । चार वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्याङ्ग्रा ल्याएका थिए ।

“महँगो परे पनि मासु पुर्याउनै सकिएको छैन, आइतबार तीन वटा काट्दा पनि पुगेन”, व्यापारी केसीले भने । नवदुर्गा मासु पसलका सञ्चालकसमेत रहेका केसीले भने काटेको मासु १३ सयमा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष भने प्रतिकिलो १२ सय रुपैयाँ थियो ।

जिउँदो च्याङ्ग्रा पनि अरु व्यापारीले भन्दा एक हजार कम मूल्यमै बेचेको उनको भनाइ छ । च्याङ्ग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।

खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुभएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्याङ्ग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् ।

महँगै परे पनि उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।

मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्याइन्छ । यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.