www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोकमा चट्याङ प्रतिरोधी प्रविधि जडान

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ ।

चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो ।

स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको टावरमार्फत हावाको रेञ्जबाट २१४ मिटर गोलाइको वरिपरि सुरक्षित राख्न सक्ने क्षमता राख्दछ ।

त्यसबाट २७० घरधुरीका १३५० जनाका साथै घर पालुवा जनावरसमेत लाभान्वित हुनेछन् । यसका अतिरिक्त त्यहाँस्थित विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, वडा कार्यालय तथा स्वास्थ्यचौकीसमेत सुरक्षित रहने बताइएको छ ।

जमीनमुनि १० फिट गहिरो तथा चार-चार फिट चौडाइको खाडलमा केमिकल राखी बनाइएको उक्त प्रविधिको लागि स्थानीय जनसहभागितासहित रु तीन लाख लगानी भएको जनहितका प्रतिनिधि चिरञ्जीवी कट्टेलले जानकारी दिए । उक्त प्रविधि ९९ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चट्याङबाट उक्त वडामा विगतका वर्षमा निकै ठूलो धनजनको क्षति भइसकेको छ ।

भूगर्भविद्का अनुसार सिन्धुपाल्चोक जिल्ला चट्याङ र पहिरोको उच्च जोखिममा पर्दछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.