www.tandavnews.com
Fact ~ In search of truth

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

काठमाडौं ।

राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।

काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो ।

उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श दिई अभिभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिए ।

गत साउनदेखि परिषद्ले नियमित रुपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ । साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका बालबालिका तीनदेखि १८ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालक र दुई बालिका गरी कुल ११ जनाको पनि उद्धार गरेको थियो ।

सरोकार केन्द्रबाट उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरी संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.