पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले रकम असुल्ने गरेको आरोप लागेको छ । घिमिरेले आफ्नो मातहतका जिल्लामा रकम असुल्ने गरेको आरोप लागेको हो ।
विभिन्न जिल्लाका प्रहरीहरुलाई सताउने र घुमुवा प्रहरी लगाएर आफ्नो अनुकुल काम अह्राउने गरेको स्रोतले बतायो । ‘ठूला ठूला घटना ध्यान नदिई सानातिना घटनामा चासो राख्दै दुख दिने गरेका हुन्,’ स्रोतले भन्यो,‘रिटायर्ड हुने बेलामा यस्तो गर्नु डिआइजीको केही स्वार्थ जोडिएको हुन सक्छ ।’
डिआइजी घिमिरे विरुद्ध प्रहरी प्रधान कार्यालयमा बेनामी उजुरी समेत परेको स्रोतले बतायो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको प्रहरी निरिक्षनालयले आन्तरिक छानविन समेत सुरु गरेको छ । घिमिरे आउँदो माघ २८ गते रिटायर्ड हुँदैछन् ।
घिमिरेले केही कारवाहीमा परेका प्रहरीलाई घुमुवाको रुपमा राखेर लेकसाइडका डिस्को बारमा खटाउने गरेको आरोप समेत लागेको छ । पहिला कारवाहीमा परेका सई सोवित सुवेदी, सिपाही सोम विक र विरेन्द्र लामालाई परिचालन गरेको स्रोतले बतायो ।
यस विषयमा प्रश्न गर्दा प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेलले यदि त्यस्तो भएमा तुरुन्तै कारवाही गर्ने ताण्डव न्यूजलाई बताए । ‘कसैले गल्ती गर्छ भने तुरुन्त कारवाही हुन्छ,’ प्रवक्ता पोखरेलले भने, ‘डिआइजी घिमिरेको हकमा बेनामी उजुरी हुन सक्ला जसलाई हामीले सूचनाको रुपमा मात्रै लिन्छौँ ।’
आफुले त्यसरी कुनैपनि गलत काम नगरेको डिआइजी घिमिरेले ताण्डव न्यूजसँगको फोन सम्पर्कमा बताए । ‘म मेरो प्रदेशमा आफुले पनि गल्ति गर्दिनँ, र म मातहतकालाई पनि गर्न दिन्नँ,’ उनले भने, ‘मेरा लागि मेरो जागिर प्रतिष्ठा पनि हो ।’
केही मिडियामा आफुबारे अफवाह फैलाइएको गुनासो डिआइजी घिमिरेले गरे । ‘हिजो मात्र बेलचौतारामा रहेको विद्यालयमा निरिक्षण गर्न पठाएको थिएँ, त्यसैलाई आधार मानेर हल्ला फैलेको हुन सक्छ,’ उनले भने, ‘विद्यालयमा आर्थिक पाटोमा केही कमिकम्जोरी भएको छ भन्ने गुनासो आएपछि निरिक्षणका लागि पठाएको थिएँ ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.