www.tandavnews.com
Fact ~ In search of truth

मित्रता अभिवृद्धिमा हिसाब किताब हुदैँन– प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट पारे।

‘उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ,’ उनले भने , ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’

प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘महामहिम राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’, उनले भने । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ ।

एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए ।

‘हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु संकीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो । भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले चाडपर्वका समयमा नयाँ नोट सटही र बजारलाई सरलीकृत गर्न सरकारको तयारीबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले अघिपछिभन्दा यस बेला व्यापार र भीडभाडजस्ता चाडको स्वभाव र चाडले उत्पन्न गरेका परिस्थिति हुने भए पनि यस्तो अवस्थामा जनतालाई बढीभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको बताए ।

उनले बडादशैँमा यातायात, सुरक्षा र बजार नियन्त्रणका बारेमा ध्यान दिन सम्बन्धित निकायलाई ध्यान निर्देशन दिइसकेको बताउँदै बढी गतिमा सवारी साधन चलाएर दुर्घटना हुन नदिन र बजार भाउ बढी हुन नदिन सरकारले सचेतना अपनाएको र सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको उल्लेख गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.