www.tandavnews.com
Fact ~ In search of truth

अर्बको मासु खान्छन् पोखरेली

सन्ताेष अधिकारी
पाेखरा, ताण्डव न्यूज ।

यस वर्षको दसैंलाई पोखराका लागि १५ हजार हाराहारीमा भेडाच्यांग्रा र १० हजार खसीबोका आइसकेका छन् । च्यांग्रा तिब्बत, मुस्ताङ, मुगु र डोल्पादेखि भेडा,च्याङ्ग्रा पोखरा ल्याइएका हुन् ।

व्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङग्रा काठमाडौं लैजाने तयारी छ । ‘खासातिरबाट यसपाली च्याङग्रा आएको छैन । काठमाडौंका अधिकांश व्यापारी पनि यतै छन,’ उनले भने, ‘मुस्ताङको च्याङग्राको माग अहिले निकै बढेको छ । धेरैजसो च्याङग्रा काठमाडौं जान्छ ।’ मुस्ताङका च्याङग्रा पोखरा हुँदै, , चितवन, नारायणगढ, बुटवलका शहरमा पुग्ने गरेका छन् ।

Batas

एउटा च्याङग्राको मूल्य २० देखि ३२ हजार रुपैयाँसम्म पर्छ । दसैंमा अत्याधिक खोजी हुने हिमाली क्षेत्रका च्याङग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । ‘दसैंमा च्याङग्रा किन्ने चलन छ । वर्षमा एकपटक मात्रै आउने भएकाले पनि मान्छेहरु हुरुक्कै हुन्छन,’ खड्कीले भने, ‘हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ ।’

पोखरामा दशैंमा ५० करोड रुपैयाँ हाराहारीको च्याङग्राको मासु बिक्री हुन्छ । सबै गरेर पोखरामा एक अर्ब ५० करोडको मासु खपत हुने कास्की मासु ब्यवसायी समितिले जनाएको छ ।

ब्यवसायिहरुका अनुसार दशैँमा एक लाख ८० कुखुरा बिक्री हुने अनुमान छ । यसबाहेक राँगा, भैसी, बंगुरलगायतको मासु पनि बिक्री हुन्छन् । यसबाहेक पोखरामा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका, च्याङग्रा र चार अर्ब रुपैयाँको कुखुराको मासु बिक्री हुन्छ । वर्षमा करिब एक लाख वटा खसीबोका, २५ हजार वटा भेडा च्याङग्रा र ६६ लाख वटा कुखुरा बिक्री हुन्छन् । पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका व्यवसायी समितिका ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो । भन्सार मूल्य र खसीबोकाकै मुल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए । ‘भारतबाट आउने खसीबोकाको मूल्य नै बढी भैसक्यो । त्यसमाथि भन्सार पनि ५०० रुपैयाँ बढ्यो,’ उनले भने, ‘नेपाली उत्पादनलाई प्राथमिकता दिऔं भनेर आयात घटाएका छौं । अहिले अधिकाशंले नेपालकै खसीबोका किन्न पाउँछन् ।’ पोखरामा भारतसहित दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्जलगायतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ ।

मासुका पारखीलाई डाक्टरको यस्तो सल्लाह

नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ ।

आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा सितल अधिकारीले पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताए । अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनकोे भनाइ छ ।

मुख्य रुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ । रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिए ।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ । त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलग÷अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउँछन् । चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनकोे सुझाव छ । विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन् ।

खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने चिकित्सकहरुको अध्ययनले देखाएको छ । राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने ठाकुरको छ । पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उनले यस्ता खानेकुरा नखान सुझाव दिए ।

खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ । पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भाबना देखिएको छ । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ ।

चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ । मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ ।

मासु खानैपर्दा ताजा नै खानुपर्ने चिकित्सकहरुको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुबै तरिका हानिकारक हुने उहाँको भनाइ छ । फ्रिजमा राख्दा कडा संक्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै डा अधिकारीले भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउँछन् ।

डा. अधिकारीले भने, ‘मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।’ अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उनको भनाइ छ । बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उनको सुझाव छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.