www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा पेप्सीका कामदार आन्दोलित

नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् ।

विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् ।

पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रमेश गौतमले बताए ।

सो उद्योग बहुराष्ट्रिय कम्पनी पेप्सीको एक शाखा उद्योगको रुपमा रहेको छ । काठमाडौँ पेप्सीकोलापछिको पेप्सी कम्पनीको दोस्रो उद्योगको रुपमा बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) यस स्थानमा रहेको छ ।

श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलन गर्दै आए पनि उद्योग पक्षले आफ्ना मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनःआन्दोलनमा उत्रिएको संयोजक गौतमको भनाइ छ । चरणबद्ध आन्दोलन गर्दै आएका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् ।

नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै दैनिक ज्यालादारी कामदारले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तिपत्र दिएर मात्र काममा राख्न कम्पनीसक्षम माग गर्दै आएका छन् ।

‘विगत पाँच महीनादेखि नै यहाँ कार्यरत हामी दैनिक ज्यालादारीमा कार्यरत श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन गरेको छ । तर पनि प्रशासनले कामदारको पक्षमा वकालत गरेको छैन’, मजदुर अगुवा हरि भण्डारीले बताए ।

भण्डारीका अनुसार पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन । दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले कामदार आपूर्ति कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ ।

निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधैँ नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका कामदारले माग राखेका छन् ।

उद्योगमा विशेषगरी मजदुरको सङ्ख्या अधिकांश नेपाली छ भने अन्य अधिकांश कर्मचारीको सङ्ख्या भारतीय रहेका छन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत छन् । जसमध्ये करीब ३०० को सङ्ख्यामा दैनिक ज्यालादारीमा काम गर्ने कामदार छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.