www.tandavnews.com
Fact ~ In search of truth

लोपोन्मुख रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका

तनहुँ ।

लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो ।

सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो । त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर व्यास नगरपालिकाको पहलमा गत वर्षदेखि प्रत्येक दशैँमा खुला मैदानमा रोटेपिङ हाल्न शुरु गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘अहिलेका पुस्तालाई रोटेपिङ कस्तो हुन्छ भन्नेबारे पनि थाहा नहुन सक्छ’, न्यौपानेले भने, ‘लोप हुँदै गइरहेकाले यसको संर्वद्धन र संरक्षण गर्ने प्रयास गरेका हौँ ।’ नगरप्रमुख न्यौपानेका अनुसार प्रत्येक वर्षको दशैंमा रोटेपिङ हाल्ने परम्परालाई निरन्तरता दिइनेछ ।

नगरपालिकाकै आर्थिक लागतमा खुला मैदानमा पिङ बनाइएको छ । गत वर्ष हालिएकै सामग्री प्रयोग गरेर पिङ बनाइएको नगरपालिका–२ का वडा सदस्य टुकबहादुर हमालले जानकारी दिए । हमालका अनुसार रोटेपिङ बनाउनका लागि म्याग्दे गाउँपालिकाका पाँच जना खटिएका थिए । रोटेपिङ सँगसँगै दुई वटा लिङ्गेपिङ पनि बनाइएको छ ।

नगरपालिकाको सक्रियतामा दमौलीमा गत वर्षदेखि रोटेपिङ हाल्न शुरु गर्नु सकारात्मक रहेको स्थानीय प्रकाश श्रेष्ठले बताए । ‘रोटे पिङको संरक्षणका लागि नगरपालिकाले देखाएको चासो अत्यन्तै राम्रो छ’, श्रेष्ठले भने, ‘यसले कमसेकम दशैँमा भए पनि बजारवासीले रोटेपिङको अनुभव लिन सक्छन् ।’ रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.