www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा बडादशैँको दिनको असिनाबाट धानबालीमा ७५ लाखको क्षति

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका¬–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ ।असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका २ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए ।

बडादशैँका दिन मङ्गलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो । असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ ।

Batas

त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा¬–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए ।

असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन ।

बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए ।वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ ।

असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.