www.tandavnews.com
Fact ~ In search of truth

सीसँगकाे वान टु वान वार्तामा ओली र प्रचण्डले के कुरा राख्लान् ?

काठमाडौं- २ दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमणको दोस्रो दिन पनि उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्।

शनिबार अपरान्ह काठमाडौं उत्रिएका सीले आज प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘वान टू वान’ भेट गर्दैछन्।

आइतबारको भेटको सुरुवात भने नेकपा पार्टी सचिवालयका सदस्यहरुबाट हुनेछ। नेकपा सचिवालयको टोली प्रचण्डको नेतृत्वमा रहनेछ। सामूहिक भेटपछि बिहान साढे १० बजे प्रचण्डले सीसँग ‘वान टू वान’ भेट गर्नेछन्।

Batas

प्रचण्डसँगको भेटपछि राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहान ११ जेका लागि तय उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सीमा व्यापार तथा दक्षिण एसियाको राजनीतिका बारेमा समेत कुराकानी हुने बताइएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग बेइजिङमा भेटेका सीले शुक्रबार भारत भ्रमण गर्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेट गरेका थिए। शनिबार मोदीसँग ४० मिनेटसम्म ‘वान टू वान’ भेट गरी उनी नेपाल आएका थिए।

उनले आज नेपालका प्रधानमन्त्री ओलीसँग भेट गर्दैछन्। ओलीसँग भेट गरे सीले आफ्नो देशसँग सीमा जोडिएका ३ राष्ट्रका प्रमुखसँग एक साताभित्रै भेटेको यो पहिलो घटना हुनेछ। यसकारण पनि ओलीसँग हुन लागेको भेटलाई भू-राजनीतिक हिसाबले महत्वपूर्ण रुपमा हेरिएको छ। यसले दक्षिण एसिया क्षेत्रमा व्याप्त ‘राजनीतिक संकट’ तथा दूरी घटेर जाने विश्वास समेत लिइएको छ।

ओलीसँगको भेटपछि दुवै नेता प्रतिनिधिमण्डल स्तरीय वार्तामा सरिक हुनेछन्। सो क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षरसमेत हुनेछ।

सरकारले चिनियाँ प्रतिनिधिमण्डल स्तरीय बैठकमा विभिन्न एक दर्जनभन्दा बढी प्रस्ताव पेस गर्ने बताइएको छ। सोमध्ये केरुङ-काठमाडौं रेलमार्गलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

यसअघि शनिबार एयर चाइनाको विमानमार्फत काठमाडौं उत्रिएका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा अवतरण गरेको थियो। स्वागतपश्चात् चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ अर्पण गरिएको थियो। नेपाली सेनाको एक टुकुडीले सीको सम्मानमा २१ तोपको सलामीसमेत दिएको थियो।

चीनका राष्ट्रपति नेपाल आएको यो घटना २३ वर्षपछिको हो। यसअघि सन् १९९६ मा चीनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए। उनको भ्रमण पनि दुई दिने नै थियो। पछिल्लो पटक भने सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन च्यापाओले नेपाल भ्रमण गरेका थिए। तर उनको भ्रमण केवल पाँच घण्टाका लागि भएको थियो।

सीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीपरिषद्‌का अन्य सदस्यहरुसमेत पुगेका थिए।

सीले शनिबार साँझ नै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा भएको दुई समकक्षी बीचको भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए।

भेटवार्ताका क्रममा राष्ट्रपति सीले शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्।

सोपश्चात् दुवै राष्ट्रपति बीचमा प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको छ। सो वार्तामा नेपाली पक्षबाट राष्ट्रपति भण्डारीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर तथा चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललगायतको उपस्थिति रहेको थियो।

चिनियाँ पक्षबाट राष्ट्रपति सीसँगै विदेशमन्त्री वाङ यी, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत सहभागी थिए।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति सीले भेट गरेका छन्। होटल सोल्टीमै यी दुई नेताको बीचमा भेट भएको हो। भेट निकै छोटो समयका लागि मात्रै भएको बताइएको छ। भेटमा देउवालाई सीले चीन भ्रम‌णको निम्तो दिएको कांग्रेसका एक नेताले बताए।

राष्ट्रपति सी बस्ने होटल सोल्टीमै शनिबार बेलुका राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी थिइन्। सोक्रममा दुवै नेताले छुट्टाछुट्टै सम्बोधन समेत गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.