www.tandavnews.com
Fact ~ In search of truth

ताल बाराही मन्दिरमा कोजाग्रत मेला

पोखरा ।

पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ ।

Batas

तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने मेलामा डुङ्गा व्यवसायीलाई यात्रु ल्याउन लैजान भ्याइनभ्याइ भएको छ ।

आज मात्र सो मन्दिरमा लगभग एक लाख भक्तजनले दर्शन गर्ने तालबाराही मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिका सदस्य जुना अधिकारीले जानकारी दिए । कोजाग्रत पूर्णिमा भएका कारण बिहानैदेखि भक्तजनको अत्यधिक भीड लागेको उनले बताए ।

फेवाताल डुङ्गा व्यवसायी समितिले दुईवटा डुगां जोडेर बनाएका ३५ वटा डुङ्गाका साथै अन्य डुङ्गाबाट भक्तजनलाई सेवा प्रदान गरिरहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार फेवातालमा कूल ३६३ डुगांले भक्तजनलाई सेवा दिइरहेका छन् । डुङ्गाबाट मन्दिर आवतजावतका लागि प्रतिव्यक्ति ६० तिनुपर्ने हुन्छ । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा तालबाराही मन्दिर रहेको होटल रानीबन अर्किड लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।

माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो ।

अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गर्यो भन्ने यकिन तथ्य भने अmझै पनि अनुसन्धानको पर्खाइमा छ । विभिन्न तथ्यका आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नै यसको अस्तित्व रहेको अनुमानसमेत गरिएको छ ।

कास्कीका राजा कुलमण्डन शाहले उक्त मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए । किंवदन्तीअनुसार प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र त्यहाँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको हो ।

तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्यासीनीको भेषमा रातको समय मन्दिर वरपरको गाउँ पुग्दा कसैले पनि बास दिएनछन् तर एउटी बूढीआमाले बास बस्न दिएर रातमा आफूसँग भएको ढुटाको रोटी पनि खान दिइछन् ।

भोलिपल्ट आफू जाने बेलामा सन्यासीनीले बूढीआमालाई अब यहाँ जलमग्न हुन्छ सुरक्षित बस्नु भनिछन् । पछि ठूलो बाढी आएर त्यहा जलमग्न भएछ र बीच भागमा ढिस्को मात्रै रहन गएछ । त्यही ढिस्कोमा ताल बाराही बसेको जनविश्वास छ । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेकाले तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको अध्यक्ष भुजेलले बताए ।

तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तुपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुगां चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ ।

प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउँनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकिर्षत गरेको छ ।

कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.