www.tandavnews.com
Fact ~ In search of truth

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

बारा ।

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ ।

अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको संख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको संख्या यहाँका विरामीको संख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ ।

आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएको विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक पाँच करोड सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ ।

वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करीब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा .काफ्लेले बताए । अस्पतालमा आँखाको शल्यक्रिया एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो ।

विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.