www.tandavnews.com
Fact ~ In search of truth

कञ्चनपुरमा गोरुले हिर्काउँदा वृद्धाको मृत्यु

कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् ।

तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए ।

धानबाली हात्तीको बथानद्वारा सखाप

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले गए राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पुर्याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् । पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताए ।

साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उनले बताए । दुई दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ उनले भने, ‘गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ ।’

हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ ।
दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो ।

प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ । स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.