www.tandavnews.com
Fact ~ In search of truth

आगामी उपनिर्वाचनमा बागलुङबाट ३८ हजार मतदाता

बागलुङ ।

Lama collectio News Middle

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९२६ र बडिगाड गाउँपालिका–२ का एक हजार ७७५ गरी जम्मा ३८ हजार ७०१ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए । यसअघि प्रदेशसभा (ख) मा ३३ हजार २४० मतदाता सहभागी भएका थिए ।

उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल रहनेछन् ।

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको २०७५ सालको मङ्सिर २६ गते निधन भएको थियो ।

राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए ।जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकांक्षा प्रस्तुत गर्न थालेका छन् ।

यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीका धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपि सुनमाया यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेर पारिवारिक जीवनलाई लयमा लैजाने बेलामा पुनः श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ ।

सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ । विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान शुरु भएको छ ।

नेपाली कांग्रेसले भने चार जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेको जनाएको छ ।

जसमध्ये दुई लाख ३३ हजार ४०२ महिला र दुई लाख २० हजार ७१० जना पुरुष छन् । मंसिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कूल ५२ पदमा निर्वाचन हुँदैछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop