www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न,नौ बुँदे घोषणापत्र जारी

काठमाडौं ।

दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका संघसंस्थाद्वारा काठमाडौँमा आयोजित सो सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्ने ठहरसमेत गरेको छ ।

‘प्रवासमा रहेका दलित समुदायले सङ्गठित वा असङ्गठितरुपमा नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोगी भूमिका निर्वाह गरिरहेका छन्, प्रवासमा भएका दलित सङ्गठन र जनशक्तिलाई नेपालको दलित आन्दोलनले रणनीतिक र कार्यनीतिकरुपमा परिचालन गर्नुपर्छ’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले दलित समस्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै त्यसलाई संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलगायत अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्ने घोषणा गरेको छ ।सम्मेलनले नेपालको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय निकायलाई दलित समुदायको उत्थान र विकासका लागि ठोस नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नका लागि अनुरोध पनि गरेको छ ।

युवा तथा खेलकूदमन्त्रीले उद्घाटन गर्नुभएको सो सम्मेलनमा दलित अधिकारकर्मी डा .विष्णुमाया परियार र डा निर्मला विश्वकर्मा र डा. निर्मल विश्वकर्मा लगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.