www.tandavnews.com
Fact ~ In search of truth

केही वर्षमै परिवर्तनको आभाष हुन्छ :मन्त्री बाँस्कोटा

काभ्रे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उनले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका हुन् ।

मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने क्षमता पाँचखालसँग रहेको बताए । उनले भने, ‘पाँचखाल अन्तर्राष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अघि बढाइरहेका छौँ ।’

सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गरे।

उनले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जानुपर्नेमा जोड दिए । ‘मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ,’ मन्त्री बाँस्कोटाले भने, ‘तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।’

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित उक्त महोत्सवमा २० कृषि उत्पादनका स्टलसहित स्थानीय समुदाय तथा व्यापारिक प्रयोजनका १०५ स्टल रहेको महोत्सव संयोजक एवं आयोजक संस्थाका सचिव जीवन नेपालले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.