www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी मिस्त्रीखोला आयोजनाको नब्बे प्रतिशत निर्माण पूरा

म्याग्दी ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ ।

रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो । बाँध, विद्युत्गृह, सुरुङ र पाइपलाइन जडानलाई अन्तिम रुप दिन जुटेको आयोजनाले इलेक्ट्रोमेकानिकल उपकरण जडान शुरु गरेको छ ।

नब्बे प्रतिशत निर्माण सकिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए । ‘ड्याम, टनेल र पावरहाउस फिनीसिङसँगै जेनेरेटर, टवाइनलगायत इलेक्ट्रिक उपकरण जडान भइरहेको छ, खड्काले भने ‘मिस्त्रीखोलाबाट विद्युत् उत्पादनको तयारीमा छौँ ।’

छिटोमा तीन महीनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य छ । गत बैशाख अन्तिम हप्ता दुई हजार २७०.५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४.५ मिटर सुरुङ खनेको छ ।

नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो । अहिले सुरुङभित्र पलास्टर गर्ने काम भइरहेको छ । नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ ।

निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो ।

पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोडको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।

प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ ।

विद्युत् विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.