www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालय बनाइँदै

बागलुङ ।

आधुनिक प्रविधि आएपछि लोप हुन लागेका परम्परागत सामग्री जोगाउन सङ्ग्रहालय स्थापनाको काम अघि बढेको छ ।

काठेखोला गाउँपालिका–७ ले ‘रेश पुरातात्विक सङ्ग्रहालय’ बनाउन लागेको हो । सङ्ग्रहालयमा ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री सङ्ग्रह गरिने वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

सङ्ग्रहालयका लागि वडाले चालू आर्थिक वर्षमा एक लाख ५० हजार बजेट छुट्याएको थियो । रेशको बैनथानामा रहेको सामुदायिक भवनमा सङ्ग्रहालय रहनेछ । पूर्वाधार तयारीसँगै सामग्री संकलनको काम भइरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।

सङ्ग्रहालयका लागि चाहिने काठ स्थानीय सामुदायिक वनले निःशुल्क उपलब्ध गराएका छन् । परम्परागत सामग्री सङ्कलनमा महिला समूहले सहयोग गरिरहेका छन् । वडा कार्यालयले पनि आफूसँग भएका परम्परागत सामग्री सङ्ग्रहालयलाई उपलब्ध गराउन सर्वसाधारणमा सूचित गरेको छ ।

सङ्ग्रहालयमा ढिकी, जाँतो, कोल, हलो, जुवा, आरान, चर्खा, ठेकाठेकी, लिस्नो, मदुस, ठड्यौलो, चुर्की, फकुलीलगायतका सामग्री राखिने भएको छ । स्थानीय जनजाति समुदायको पहिचान झल्कने कला, संस्कृृतिसँग सम्बन्धित सामग्री पनि सङ्ग्रहित गरिनेछ ।

‘सङ्ग्रहालयमा स्थानीय संस्कृति, रहनसहन र जीवनशैलीको झल्को दिने सामग्री रहन्छन्’, वडाध्यक्ष लामिछानेले भने, ‘परम्परागत सामग्रीको संरक्षणसँगै सङ्ग्रहालयले पर्यटकीय आकर्षण पनि थप्नेछ ।’ पर्यटकीय सम्भावना बोकेको गाउँ भएकाले सङ्ग्रहालयले पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ ।

रेशमा सञ्चालित घरबास (होमस्टे) पुग्ने पर्यटकका लागि सङ्ग्रहालय नयाँ गन्तव्य बन्ने बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले बताए । रेशमा बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी चार होमस्टे छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेशका घरबास उपयुक्त मानिन्छन् ।

घरबासमा आउने पाहुनालाई गाउँलेले पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने गर्छन् । गाउँले जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने गरेको छ ।

रेश गाउँको नजिकै १९ सय मिटरको उचाइमा अवस्थित चापाखर्क हिमश्रृङ्खला अवलोकनका लागि उत्तम गन्तव्य मानिन्छ । ‘चापाखर्कबाट दर्जनौँ हिमाल देख्न सकिन्छ, यहाँको वातावरण नै पर्यटक लोभ्याउने खालको छ’, वडाध्यक्ष लामिछानेले भने । त्यहाँ पुग्ने पर्यटक पदयात्रामार्फत गाजा दह, भकुण्डे र भैरवस्थान पुग्न सक्छन् ।

पर्यटन प्रर्वद्धनकै उद्देश्यले डोटा देउरालीमा ‘मदन स्मृति पार्क’ समेत निर्माण गरिएको छ । घरबास कार्यक्रमकै चार लाख बजेटबाट उक्त ‘पार्क’ बनाइएको हो । ‘पार्क’ मा मदन भण्डारीको शालिक राख्ने वडाको योजना छ । बागलुङ सदरमुकामदेखि १५ किमी मोटरको यात्रामा रेश पुग्न सकिन्छ । पैदल यात्रा गरे तीन घण्टामा पुगिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.