www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा सहकारीबाट ठगिँदै सेवाग्राही

स्याङ्जा ।

स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ ।

वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो ।

उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट एक वर्ष पहिले ६० लाख ऋण लिएकोमा अहिले उक्त रकमको साँवा र ब्याज बुझाएर खाता बन्द गर्न खोज्दा ८४ हजार ५०० लिएको उनको गुनासो थियो।

उपाध्यायले भने, ‘मैले सहकारीबाट निकालेको रकमको साँवाब्याज सबै बुझाएर खाता बन्द गर्छुभन्दा पनि सुख पाइन । मैले अन्य बैंकबाट सस्तो ब्याजदरमा पैसा पाएपछि साँवा, ब्याज र सेवा शुल्कसमेतको रकम तिरिसकेपछि सहकारीले आफूसँग बढी रकम लिएको छ ।’

सरिताले घर निर्माणका साथै अन्य कारोवारका लागि जग्गा सहकारीमा राखेर ऋण माग्दा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा ६० लाख दिन नमिल्ने बताएकीले आफूले आफ्नो, बुहारी र देउरानीका नाममा ३० हजारका दरले ९० हजारको तीन वटा शेयर राखेर ६० लाख लिएको र शुरुको तीन÷चार महीना मासिक १८ प्रतिशतका दरले ब्याज बुझाएकी थिइन् ।

ऋण लिएपछि पहिला १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले ब्याज बुझाउँदै आएकामा सहकारीले तीनैजना शेयर सदस्यको र घरकोसमेत बीमा गर्नुपर्ने भन्दै बीमाबापतको ३२ हजारसमेत लिएकाले आफू अन्यायमा परेको भन्दै गुनासो गर्दा कतै पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले ब्याज र नवीकरण शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नमिल्ने र योभन्दा अन्य शीर्षकमा रकम लिनु भनेको ठगी गर्नु भएको बताए ।

यसबारे संस्थाकी अध्यक्ष गैह्रेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । वालिङ नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले सो विषयमा नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र संस्था तथा शेयर सदस्यबीचको आन्तरिक कुरा भएकाले एकापसमा बसेर विवाद मिलाउन भनिएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.