www.tandavnews.com
Fact ~ In search of truth

बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

चितवन ।

धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् ।

जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताए । उनले भने, ‘धेरै कुर्यौ, तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ ।’ यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उनको भनाइ छ ।

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ । धानमा बाला नलागेपछि एक महीनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो ।

उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन् । कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताए। उनले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिए । व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.